पंकजलाई रुचाएका गणेश थापाले नवीन पाण्डेको नियुक्तिमा किन आपत्ति जनाए ?
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को केही दिनअघि सम्पन्न केन्द्रीय कार्य समिति निर्वाचनमा पंकजविक्रम नेम्वाङ अध्यक्षमा र उनको प्यानलका अधिकांश निर्वाचित भए ।
पूर्वअध्यक्ष गणेश थापानिकटलाई पनि पंकजले प्यानलमा समेटेकाले उनको पनि समर्थन रहेको अर्थ लगाइयो ।
कुनै समय थापाविरुद्ध भ्रष्ट्राचार गरेको अभियान चलाउनेमा पंकज र उनले यस पटक अध्यक्षमा पराजित गरेका कर्मा छिरिङ शेर्पा एकसाथ दिए ।
एन्फामा पंकज नेतृत्वको टिमले जित हात पारेकामा खुसी देखिएका थापाले शुक्रवार भने कार्य समितिको एक निर्णयलाई लिएर आपत्ति जनाएका छन् ।
एन्फाले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेपछि थापाले असन्तुष्टि जनाएका हुन् ।
यसअघि कर्मा छिरिङको पालामा पनि पाण्डेलाई विदेश विभाग प्रमुख नियुक्त गरिएको थियो । तर कर्मा छिरिङसँग सम्बन्ध बिग्रिएपछि पाण्डेले कार्य शैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए।
पाण्डे तीनै व्यक्ति हुन् जसले थापाविरुद्ध भ्रष्ट्राचार गरेको भनेर कर्मा-पंकज समूहलाई गतिलो साथ दिएका थिए । पाण्डे विदेशमा बस्दै आएका छन्।
यस पटक एन्फाको निर्वाचन पूर्व सन्ध्यामा पाण्डेको नेपाल आगमनलाई सहजै अर्थमा बुझ्न सकिन्थ्यो।
थापाले गैह्र नेपाली नागरिक एन्फामा निर्वाचित हुने वा मनोनीत हुने प्रावधान नरहेकाले पाण्डेको नियुक्त अवैध भएको तर्क गरेका छन्।
एन्फा अध्यक्ष पंकजले भने गैह्र नेपाली नागरिक एन्फा कार्य समितिमा मात्र निर्वाचित वा मनोनीत हुन नपाउने भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा जिम्मेवारी दिन सकिने बताए।