एन्फा चुनाव आज, कर्मा र पंकज प्यानलसहित चुनावी मैदानमा – Nepal Press

एन्फा चुनाव आज, कर्मा र पंकज प्यानलसहित चुनावी मैदानमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि आज निर्वाचन हुँदैछ ।

बूढानीलकण्ठस्थित पार्क भिलेजमा आज साँझ आउने नतिजासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ ।

आगामी चार वर्ष एन्फा हाँक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ-आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन् ।

चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँचजनाको उम्मेदवारी परेको छ ।

२१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन् ।

जसमा ४८ मध्ये ४२ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एकएक मताधिकार पाएका छन् ।

चार वर्ष अघि भएको एन्फा निर्वाचनमा कर्मा र पंकज समूह नै ‘क्लीन स्विप’ गर्दै एन्फा हाँक्न आएको थियो । तर, दुवै समूह विभाजन हुँदै यसपटक एक अर्काविरुद्ध लड्दैछन् । चुनावी साधारणसभा बिहान ९ बजे सुरु हुनेछ ।

महासचिव र कोषाध्यक्ष भने पछि केन्द्रीय समितिले मनोनीत गर्छ।

एन्फामा वार्षिक एक अर्बको बजेट हुन्छ। विश्व फुटबल महासंघ-फिफा र एसियाली फुटबल महासंघ (एएफसी) बाट मात्र वार्षिक करोडौं रूपैयाँ आउने गर्छ ।

यसअघि गणेश थापा अध्यक्ष रहँदा एन्फामा अनियमिता र भष्ट्रचार भएको भन्दै सँगै आवाज उठाएका कर्मा र पंकजबीच पछिल्लो समय खुलारुपमा आरोप-प्रत्यारोप चल्दै आएको छ । कर्माको कार्यशैलीले लिएर पंकजले बारम्बार असन्तुष्टी जनाउँदै आएका छन् । यही कारण यसपटक दुवैजना प्यानलसहित प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर