निष्कासित खेलाडीको समर्थनमा नवयुग, प्रशिक्षकको व्यवहार चित्तबुझ्दो नभएको गुनासो (भिडिओ) – Nepal Press

निष्कासित खेलाडीको समर्थनमा नवयुग, प्रशिक्षकको व्यवहार चित्तबुझ्दो नभएको गुनासो (भिडिओ)

काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण एकैपटक राष्ट्रिय टिमबाट कप्तान किरण लिम्बुसहित ११ जना खेलाडीको बहिर्गमन भएपछि नयाँ कप्तान बनाइए नवयुग श्रेष्ठ । उनको नेतृत्वमा नेपाली टिम हालै एसियन कप छनाेट खेलेर स्वदेश फर्किएको छ ।

स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नवयुगले पहिलोपटक प्रशिक्षक र खेलाडीबीचको विवादमा मुख खोलेका छन् । उनले घटनामा खेलाडीभन्दा प्रशिक्षककै गल्ती औंल्याए । प्रशिक्षक अल्मुताइरीले जान भनेकाले नै खेलाडीहरु बाहिरिएको उनको स्पष्टोक्ति थियो । उनले प्रशिक्षकको व्यवहार चित्तबुझ्दो नभएको बताए ।

‘होटलबाट खेलाडीहरु त्यत्तिकै निस्किएको चाहिँ होइन । म पनि त्यहीँ थिएँ । त्यतिबेला कोचसँग कुरा हुँदा तिमीहरु जान सक्छौ भनेपछि उनीहरु प्रशिक्षण छाडेर गएका हुन् । पछि विवाद थप बढ्दै गएपछिको कुरामा चाहिँ मलाई केही भन्नु छैन । प्रशिक्षकले त्यसबेला खेलाडीलाई गरेको व्यवहार अलि चित्तबुझ्दो थिएन’, उनले भने ।

एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा तीनै खेल हारेको नेपाली टिम आज बिहान १० बजे स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि कप्तान नवयुगले पुराना खेलाडी भएको भए नतिजा पनि फरक आउने प्रतिक्रिया दिए ।

‘भइरहेको खेलाडी टिममा नहुँदा अलि फरक त हुन्छ नै । नयाँ खेलाडीहरुले राम्रो गरे । तर, पुराना खेलाडीहरु भएको भए नतिजा केही हदसम्म राम्रो हुन्थ्यो’, उनले थपे ।

सोचेजस्तो नतिजा नआए पनि युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरेको उनी बताउँछन् ।

‘हामी छनोट चैं हुन सकेनौं । तर, नयाँ भाइहरूको प्रदर्शन चित्तबुझ्दो नै छ । उनीहरु सुरुमा खेल्न डराएजस्तो भए पनि पछि राम्रो गरे । नयाँ खेलाडीहरूसँग खराब नतिजा भन्न सक्दिनँ’, श्रेष्ठले भने ।

जोर्डनसँगको २-० पराजय सम्मानजनक नै भएको उनको टिप्पणी छ । यस्तै, दोस्रो खेलमा कुवेतसँगको प्रदर्शनमा पनि उनी सन्तुष्ट छन् ।

‘तेस्रो खेलमा इन्डोनेसियासँग कोचले नयाँ खेलाडीहरूलाई खेलाउने कुरा गर्नुभयो । त्यही भएर गोल धेरै खाइयो’, नवयुगले भने ।

छनोटमा जितविहीन रहेको नेपाली टिम घरेलु टिम ओमान, जोर्डन र इन्डोनेसियासँगै समूह ‘ए’ मा थियो । तीनै खेलमा हार व्यहोरेको नेपाल पहिलो खेलमा जोर्डनसँग २-० ले, दोस्रो खेलमा ओमानसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर