ओमानमाथि नेपालको सहज जित
काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले हराएको छ।
बुधबार बिहान सम्पन्न खेलमा नेपालले अलराउन्ड प्रदर्शन गर्यो। टस जितेर पहिला ब्याटिङ गरेको ओमानले ४६.५ ओभरमा सबै विकेट गुमाएर एक सय ६३ रन जोडेको थियो। ओमानलाई सस्तोमा समेट्न नेपालका करन केसीले एक्लैले पाँच विकेट लिए। सन्दीप लामिछानेले पनि तीन विकेट लिए। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट हात पारे।
नेपालले ३३.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्यो। नेपालको जितमा दुवै ओपनिङ ब्याट्सम्यानले अर्धसतकीय पारी खेले। कुशल भुर्तेलले ५६ र आसिफ शेखले ६२ रन बनाए। रोहित पौडेल २६ रनमा अविजित रहे। नेपालले पहिलो विकेटका लागि एक सय १४ रनको साझेदारी गरेको थियो। आसिफले लगातार दोस्रो खेलमा अर्धसतक बनाएका हुन्।
नेपालले जितको आधार भने बलिङबाटै बलियो बनाएको थियो। करनले ९ ओभरमा ३३ रन खर्चिए भने सन्दीपले १० ओभरमा ४७ रन दिए। ओमानले ४९ रन जोड्दा पाँच विकेट गुमाएको थियो। त्यतिबेलासम्म सन्दीपले तीन र करनले दुई विकेट लिएका थिए। तर कप्तान जिसन मकसुद र सन्दीप गौडबीच छैटौँ विकेटका लागि ८३ रनको साझेदारी भएको थियो।
ओमानले एक सय ३२ रन जोड्दा दीपेन्द्रले ४१ औँ ओभरमा मकसुदलाई एलबीडब्लु धरापमा पारेर उक्त साझेदारी तोडेका थिए। मकसुदले ५२ रन रन बनाए। एक सय ४६ रन जोड्दा ओमानले गौडलाई पनि गुमाएको थियो,करनको बलमा। गौडले ४७ रन बनाए।
पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली अमेरिकासँग टाई भएपछि अंक बाँढेको थियो। अब अन्तिम खेलमा नेपालले अमेरिकासँग खेल्ने छ।
यो जितसँगै नेपाल अंक तालिकामा एक स्थान माथी उक्लिएर पाचौँमा पुगेको छ। नेपालले १५ खेलबाट १५ अंक जोडेको छ। ३६ खेलबाट ४४ अंक भएको ओमान शीर्षस्थानमा छ। ७ टोली सहभागी रहेको प्रतियोगितामा स्कटल्यान्डको २० खेलबाट २८, यूएईको २२ खेलबाट २६ र अमेरिकाको २३ खेलबाट २१ अंक रहेको छ। नामिबियाको १४ खेलबाट १४ र पीएनजीको २० खेलबाट २ अंक रहेको छ।
प्रतियोगितामा ओमानले आफ्ना सबै खेल सिध्याएको छ। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानसँग छैटौँपटक भिड्नेक्रममा नेपालले दोस्रोपटक जित हात पारेको हो।