चोरको स्वर : भागी विवाहले देखाएको लिम्बू संस्कृति र सौन्दर्य – Nepal Press
नाटक समीक्षा

चोरको स्वर : भागी विवाहले देखाएको लिम्बू संस्कृति र सौन्दर्य

काठमाडाैं । सिनेमामा कथा भन्नका लागि मल्टिपल फ्रेमहरुले निकै सहज बनाउँछ । पात्रहरुको चुडान्त विगत् होस् या सम्झनलायक अतित, सिनेमामा देखाउन सहज छ । फरक सेटिङ र समयमा पात्रहरुलाई क्यामेराको फ्रेमभित्र समेट्नु सिनेमामा जति सहज हुन्छ, त्यति सहज नाटकमा पक्कै हुँदैन ।

एउटा स्टेजमा अनेक पात्रहरुको अनेक कथाहरु पस्कनु र ती कथामा दर्शकको अटेन्सन खिचिराख्नु आफैमा चुनौतीपूर्ण हुन्छ नै । आर्टमाण्डु टिमले थापागाउँस्थित मण्डला थिएटरमा ‘चोरको स्वर’ नाटकमार्फत् यही चुनौती मोल्ने प्रयास गरेको छ ।

लिम्बू समुदायमा हुने भागी विवाहलाई मूल मियो बनाएर तयार पारिएको नाटकले विवाहकोे संस्कार र त्यसको रोमाञ्चकतालाई मात्रै पस्किएको छैन, विकासका नाममा आदिवासीको पहिचानमाथि डोजर कसरी कुद्छ ? डोजरको समाजशास्त्र के हो ? किन डोजर गाउँको बाटो नआएर चिहानघारितिर पुग्छ ? यी प्रश्नको अन्तरकुन्तर खोतल्ने प्रयत्न गरेको छ नाटकले । हामीले भनिरहेको विकास र त्यसले पुर्‍याउने क्षतिमाथि सांकेतिक प्रश्न तेर्साएको छ नाटकले ।

प्रश्नैप्रश्नको बीचबाट मानवीय संवेगहरु लिएर नाटक अगाडि बढेको छ । नाटकले सम्बन्ध, प्रेम, जिम्मेवारी र त्यसले दिने सकारात्मक ऊर्जालाई पस्केको छ । नाटक शेर्मा र चेमजोङ गाउँको कथामा आधारित छ । विकासले झल्लमल्ल चेमजोङ गाउँ र अँध्यारोमै रहेको शेर्मा गाउँबीचको घाउ पुरानै छ । पुलको लठ्ठा काट्नेदेखि एक अर्कालाई देखिनसहने अवस्था छ । चेमजोङ गाउँकी मनमाया र शेर्मा गाउँका सुनुहाङ लिम्बूको रीत नै खाइदिएका छैनन् चेमजोङ गाउँकाले ।

यी दुई गाउँको यही पुरानो घाउलाई पुनः आलो बनाइदिन्छ सीमा र भिमाङको भागी विवाहले । पुरानो घाउ आलो भइसकेपछि त्यहाँ नूनचुक छर्किइन्छ कि ओखतीमुलो गरिन्छ ? मानिस भएको नाताले त्यो घाउमा पक्कै ओखतीमुलो गरिन्छ । कुँडिएको मन माझामाझ गरिन्छ । चित्त दुखाइहरु साटासाट गरिन्छ । ‘चोरको स्वर’को मूल कथा यही हो ।

यही कथामा लिम्बूको सांस्कृतिक सौन्दर्यहरु देखिन्छन् । यही कथामा लिम्बूहरुको परम्परागत मान्यताहरु देखिन्छन् । हुन त संसारभरका आदिवासीहरुको जन्म, विवाह र मृत्यु संस्कार रोचक नै हुने गर्छन् । रोचकमात्रै होइन, त्यसले बोक्ने ऐतिहासिकता र सभ्यताको पहिलो पदचिन्हको अर्थ र आन्तर्य बेग्लै हुन्छ । लिम्बू समुदायको विवाहले पनि आफ्नो सभ्यताको पहिलो पाइलाको कथादेखि अहिलेको समयको गतिसम्मलाई मुन्धुममार्फत् जोड्छ ।

लिम्बू समुदायमा चोरको ‘सोर’ भन्नाले केटोले केटी भगाइसकेपछि केटाका अगुवाहरु रीतसहित ‘तपाईंहरुको छोरीचेली हामीसँग छन्, हामी उसलाई दुःख दिने छैनौं’ भनेर केटीको माइतीमा पुग्छन् । जसको छोरीचेली भगाएको छ, उसैले आएर यस्तो भन्ने चलनलाई ‘चोरको सोर’ भनिन्छ । चोरको सोर केटीको घरमा पुगेपछि त्यहाँ घगडान बहस, छलफल, सवाल-जवाफ हुन्छन् । त्यहाँ भीषण सवालहरुको वर्षा हुन्छ । माइती पक्षले उठाएको हरेक सवालहरुको चित्तबुझ्दो र भरपर्दो जवाफ दिनुपर्ने अभिभारा र दायित्व केटा पक्षका भद्र भलाद्मीमा हुन्छ ।

त्यहाँ हुने गरमागरम बहस बडो काव्यिक हुन्छ । केटी पक्षले काव्यिक तवरले जवाफ दिन्छ । विम्ब र प्रतीकमा हुने सवाल-जवाफको सौन्दर्य अर्कै हुन्छ । जस्तो भनिन्छ, ‘सेवारो ! तपाईंहरुको गाउँघरमा एउटा सुन्दर फूल फुलेको रहेछ । फूलको सुवास हाम्रो गाउँसम्म पुगेछ । त्यसलाई हाम्रो भमराले मन पराएछ । अनि त्यो फूललाई हाम्रो भमराले चुँडेर लगेछ ।’

केटी पक्ष सहमत भएपछि रीत खोलेर चोरको सोरलाई स्वीकार्ने अवस्था बन्छ । त्यससँगै वैवाहिक संस्कारको सुरुवात हुन्छ । विवाहको बेला राई-लिम्बू समुदायमा एक प्रकारको चलन हुन्छ । एउटा घरमा विवाह हुँदा गाउँका सबैले सघाउँछन् । आफ्नो बलबुताले भ्याएसम्म अन्न, रक्सी, नगद, जिन्सी सहयोग गर्छन् । उनीहरुको कसैको घरमा भोज खानभन्दा पनि सहयोग गर्न पुग्छन् । गाउँका सबैको सहयोगमा एउटा घरको विवाह उठ्छ । उक्त विवाहमा कसले कति सहयोग गरे, त्यो टिपेर राखिन्छ । अर्कोपटक अर्को घरमा बिहेकार्जे हुँदा त्यसअनुसार नै सहयोग दिने चलन छ ।

विवाहमै अरु थुप्रो भागी विवाहहरु हुने अवस्था बन्छ । ‘चोरको स्वर’मा पनि सेसेहाङ र फुंगा भागेर विवाह गर्छन् । त्यसलाई पनि गाउँलेले स्वीकारेका छन् । तर, कसैको चेली ल्याइसकेपछि उसलाई घर भित्राउनुअघि ‘राजी कि बिराजी ?’ भनेर सोध्ने चलन छ । यसको मतलब महिलाको इच्छाविपरीत केही पनि हुँदैन ।

नवीन चौहानको कथा र अनिल सुब्बा, अन्वेश थुलुङ राईको निर्देशन तथा परिकल्पना रहेको ‘चोरको स्वर’ले लिम्बू समुदायको यस्तै मिहिन पाटालाई कलात्मक तवरले केलाएको छ । नाटकले अधिकजसो दर्शकलाई हसाउँछ । लिम्बू टोनमा डेलिभर गरिने संवादपिच्छे दर्शकहरु हाँस्छन् । तर, ती दर्शक हसाउने संवादहरु प्रायः मसलाको रुपमा मात्रै प्रयोग गरिएजस्ता लाग्छन् । कहिलेकाहीँ त आमीर खानको ‘लगान’ फिल्ममा साउथ इण्डियन कमेडियन ब्रह्मानन्दन छिरेजस्तो पनि लाग्छ ।

नाटकमा भिमाङकी आमाले बुहारी आएको भोलिपल्ट सोधेका सवाल र आफ्नो अतितको असफल प्रेमकथाले दर्शकलाई भावनात्मक न्यानो महसुस गराउँछ । सेसेहाङ र फुंगाको काव्यिक जुहारीमा निस्किएको भावना र कविताले दर्शकलाई न्यानोमा राखिरहन्छ अथवा सीमा र उसकी भाउजूको छुटिने बेलाको दृश्यले दर्शकलाई भावनात्मक बनाइदिन्छ । त्यसमा सीमाको दाइ आएपछि दृश्य झनै सुन्दर बनिदिन्छ ।

थिएटरमा एउटा स्टेज हुन्छ । तर, कथा अनेकौं हुन्छन्, नाटक अनेकौं हुन्छन् । नाटकमा कहिलेकाहीँ चाहिँ हाटबजार भरेजस्तो पनि लागिदिन्छ । स्टेजमा एकातिर सोल्टी-सोल्टिनीको राख-रवाफ छ, सँगै छ भद्र भलादमीका बोलीहरु, सँगै छ च्याब्रुङको आवाज, छेवैमा छ सीमा र उनकी भाउजूको विछोडको बेला बगिरहेको आँसु । कुन दृश्य चाहिँ हेर्ने ? दर्शक अलमलमा पर्न सक्छन् ! सिनेमामा भएदेखि सहज हुन्थ्यो होला, नाटकमा एउटा दृश्यलाई अटेन्सन दिइरहन दर्शकलाई गाह्रो पर्न सक्छ ।

सेटको डिजाइन, लाइटहरुको प्रयोग सुन्दर छ । तर, कतिपय फरक मुड र भावका दृश्यहरुमा एकै लाइटको प्रयोग गरिएजस्तो पनि लाग्न सक्छ । कलाकारहरुले दर्शकलाई निराश बनाइरहँदैनन् । अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङहाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा, देवना राई, नुशा लिङदेन आदि कलाकारले ‘चोरको स्वर’लाई जीवन्त बनाइदिएका छन् । झनै जीवन्त त मञ्चभन्दा पछाडि बसेर नाटकलाई भव्य बनाउन भूमिका खेल्ने नाट्यकर्मीहरुले बनाइदिएका छन् ।

नाटकले अन्त्यसम्म निराश बनाउँदैन । न विवाहको यो रीतिथिति नै अचम्म लाग्छ दर्शकलाई । जसले आदिवासीको जीवन पद्धतिलाई नजिकबाट नियालेका छन्, जसले आदिवासीको जीवन, जगतलाई हेर्ने सौन्दर्यको शक्तिलाई बुझेका छन्, उनीहरुले यो चाहिँ थाहा पाउनेछन् कि अबको हजारौं वर्षपछि पनि आदिवासीले आफ्नो सभ्यताको पहिलो पदचिन्हलाई कहिल्यै छाड्ने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *