‘चोरको स्वर’ : मथिंगल हल्लाउन होइन, लिम्बूको बिहे हेर्न आउनुस् (भिडिओ) – Nepal Press

‘चोरको स्वर’ : मथिंगल हल्लाउन होइन, लिम्बूको बिहे हेर्न आउनुस् (भिडिओ)

काठमाडौं । मण्डला थिएटर थापागाउँमा नाटक ‘चोरको स्वर’ मञ्चन भइरहेको छ । लिम्बू समुदायको भागी विवाहलाई केन्द्रीय विषयवस्तु बनाइएको यस नाटकले लिम्बू समुदायमा हुने विवाहको सौन्दर्य, त्यसको सांस्कृतिक र ऐतिहासिक जग, संस्कार र संस्कृतिको व्यापकतालाई पस्कँदैछ ।

पाँचथरमा हुर्के बढेका ‘तीनपाते’, ‘घुमी घुमी’ फेम्ड निर्देशक नवीन चौहानको कथा रहेको यस नाटकको निर्देशन तथा परिकल्पना अनिल सुब्बा र अन्वेष थुलुङले गरेका हुन् । यस नाटकको कथालाई चौहानले म्युजिक भिडियोमा खिचिसकेका पनि छन् ।

नाटक सकिएपछि म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेका चौहानले कथालाई नाट्यकरण गर्न साथीहरुसित सल्लाह गरेका थिए । म्युजिकल फिल्म बनाइरहेका उनको कथालाई नाट्यकरण गरेर मञ्चमा उतार्दा पनि गज्जब हुने सल्लाह पाएपछि साथीहरुसँग जुटेर नाटकको तयारीमा लागेका थिए ।

२० गतेबाट प्रदर्शन भइरहेको नाटक २५ दिनसम्म मञ्चन हुनेछ । म्युजिक भिडियोमा पनि र रंगमञ्चको स्टेजमा पनि दुईपटक हेर्न मिल्ने यस कथाका लेखक सर्जक चौहान र निर्देशक थुलुङले नेपाल प्रेससँग नाटक निर्माण यात्राको अन्तरकुन्तर साझा गरेका छन् ।

‘सधैँ दर्शकलाई सिकाइरहन जरुरी छ र ?’

– नवीन चौहान, लेखक

नाटक एकदमै मेहनत चाहिने क्षेत्र हो । यसले शारीरिक श्रम पनि उत्तिकै माग्छ । सृजनशील दिमाग पनि उत्तिकै माग गर्छ । मैले गीतमार्फत् कथा भनिरहेको थिएँ । गीतबाट कथा भन्नुमा एक खालको कनेक्सन हुन्छ । तर, गीतबाट, फिल्मबाट अथवा रंगमञ्चबाट भन्नु पनि कथा भन्नु नै हो । त्यसैले रंगमञ्चबाट पनि भनौं न त भन्ने भएपछि हामीले नाटकको तयारी गरेका थियौं ।

दर्शकसँग प्रत्यक्ष बसेर अनुभव साट्टै त्यसको प्रभाव र पहुँच कस्तो हुन्छ भनेर जाँच्न मन लागेर पनि नाटकमा हाम फालेको हुँ । फेरि मैले मेरो यात्रा पनि रंगमञ्चबाटै सुरु भएको हो । आज अर्को क्षेत्रमा अलिकति स्थापित हुँदै गर्दा यो क्षेत्रलाई चटक्कै किन छाड्ने भनेर दूरी नबढाउन पनि यता आएको हो ।

यो कथामा मैले भिडिओ पनि बनाइसकेको छु । यसपछि लाग्यो कि यो कथामा नाटक पनि बन्नसक्छ । साथीहरुसँग नाटक बन्न सक्छ कि भनेर सल्लाह पनि गरेँ । अलि पृथक खालको नाटक बन्छ भन्ने भएपछि नाटकमा लागियो ।

म जातले क्षत्री हुँ । मैले लिम्बूको कथा ल्याएँ । हामी विविधतापूर्ण समाजमा बसेपछि आफ्नैमात्र कुरा गर्ने, ममात्रै अथवा मेरोमात्रै भन्ने सोच राखिरहनु उपयुक्त हुँदैन । म लिम्बू समुदायमा हुर्के बढेको हो । लिम्बू समाजभित्रै हुर्कने बढ्ने क्रममा उहाँहरुको रीति, संस्कार, संस्कृतिमा चाख लाग्थ्यो । रमाइलो लाग्थ्यो । विवाह, जन्म, मृत्युको संस्कार राम्रो लाग्थ्यो ।

पछि काठमाडौं आएँ । यसपछि लाग्यो, लिम्बूका कति कुरा मान्छेलाई थाहा छैन । थाहा नहुनेलाई त्यसको एउटा माध्यम म हुन सक्छु । यसपछि काम गर्ने निधो गरेको हो ।

लिम्बू समाजमा ‘चोरको स्वर’ भन्नाले एउटा प्रक्रिया हो । कोही लिम्बू केटाले केटी भगायो भने भगायो, सकियो भन्ने हुँदैन । केटाको पक्षले केटी पक्षलाई ‘ल है तपाईंहरुको छोरी हाम्रो साथमा छ, हाम्रो छोरा भतिजले माया गरेर राखेको छ’ भनेर रीत स्वीकारिदिनुपर्‍यो भनी अनुरोध गर्छन् । अनि वैवाहिक प्रक्रिया सुरु हुन्छ । त्यसलाई ‘चोरको स्वर’ भनिन्छ । जसको छोरीचेली चोरेर लगेको छ, उसैलाई अनुरोध गर्न आएपछि ‘चोरको स्वर’ भनिने हो ।

केटा पक्ष आएपछि त्यहाँ भीषण कुरा आइलाग्छ, छलफल बहस हुन्छ । त्यहाँ जोशिला कुरा हुन्छन् । केटी पक्षले छरछिमेकलाई भनेर सबैले स्वीकारेपछि विवाहको प्रक्रिया अगाडि बढ्छ ।

म लिम्बूको विवाह भन्नासाथ रोमाञ्चित हुन्छु । यो प्रसंगले रोमाञ्चकतातिर लगिहाल्छ । गाउँघरतिर कसैको बिहेकार्जेतिर निम्तो नआई नजानू भन्ने हुन्छ । तर, लिम्बूको बिहे भनेपछि हामीलाई निम्तो चाहिँदैन थियो । पारि गाउँमा विवाह हुँदा उडेर पुगिहाल्ने ।

लिम्बूको विवाहको सन्दर्भमा समुदायकै सहयोग हुन्छ । अहिले त बिहे महंगो भयो । तर, कोही लिम्बूको कसैको घरमा विवाह हुँदा सघाउन जाने, बैदार बसेर सहयोग टिप्ने चलन हुन्छ । पछि अर्कोको घरमा बिहे हुँदा बैदारले लेखेको खाता पल्टाएर गच्छेअनुसार सहयोग गर्ने चलन हुन्छ । त्यो बीमा गरेजस्तो हो । एउटालाई पर्दा धेरैले सहयोग गर्ने हुन्छ । त्यो अनुकरणीय हो । लिम्बूको विवाहमा पाहुनापाछा धेरै बोलाउनुपर्छ । तर उनीहरुले आफ्नो व्यवस्था आफै गरेर आउँछन् । पहाडको घरमा अहिलेको जस्तो ठूलो कोठा हुँदैन । सानो घरमा दुई तीनजना पाहुनालाई पुग्ने व्यवस्था हुन्छ । तर, पाहुनाका लागि डेरा बनाइदिने हुन्छ । कसैको बिहे सक्नभन्दा पनि बिहेमा सरिक हुन पुगेका हुन्छन् । खुसी बाँड्न गएका हुन्छन् ।

लिम्बू समुदायमा अधिकजसो मागी विवाह कम भएको देखेको छु । धेरै भागी विवाह नै हुन्छ । केटाकेटीको अनेक प्रसंगमा चिनजान हुन्छ, माया बस्छ । अनि भाग्छन् । मागी विवाहमा भन्दा भागीमा धेरै प्रक्रिया हुन्छ । भागी विवाह गरेपछि ‘चोरको स्वर’ आएन भने खोज्न जाने चलन पनि हुन्छ । अनि विवाहमै अरु विवाह हुने सम्भावना पनि हुन्छ । बिहेमा च्याब्रुङ, धान नाचलगायत लिम्बू संस्कृति देख्न पाइन्छ ।
हामीले यही कथालाई ‘चोरको स्वर’ नाटक बनाउँदा नाटकबाट के भन्ने भयो । बिहेको कथा त भन्ने तर, अरु के भन्ने ? मलाई लाग्यो, सधैंभरि दर्शकलाई सिकाउन जरुरी छ र ? देखाउन पनि जरुरी छ ।

‘अन्त्यमा काठमाडौंका दर्शकले दिने सरप्राइजसित डर छ’

– अन्वेष थुलुङ, निर्देशक

म आफै इलाममा नाटकमाथि काम गर्दै आएको हो । मोफसलमा काम गर्नुका चुनौती आफ्नै खाले थिए । अहिले काठमाडौंमा नाटक गर्नु मेरा लागि ठूलो अनुभव हो । साथमा अनिल सुब्बा हुनुहुन्छ । उहाँ इलामकै हुनुहुन्छ । उहाँ यतै लामो समय काम गरिसक्नुभएकाले सहज पनि भइरहेको छ ।

तर, काठमाडौंमै गर्ने भनेपछि अलि नर्भस चाहिँ होइनेरहेछ । यहाँको बजार मेरा लागि नयाँ हो । नयाँ क्षेत्र हो । नयाँ काम हो । यसको चुनौती हामीलाई छँदैछ । त्यसैले काठमाडौंले नाटकको अन्तिमसम्ममा दिने सरप्राइजसँग चाहिँ अलिअलि डर छ ।

अहिले रंगमञ्चलाई हेर्दा म चाहिँ सम्भावनाको हिसाबबाट हेर्छु । रंगमञ्चको नतिजा पनि प्रत्यक्ष नै हुन्छ । कति दर्शक आए, कति टिकट बिक्री भएर भनेर प्रत्यक्ष देखिने क्षेत्र भयो । रंगमञ्चमा ठूलो समूहले रोजगारी पाउने सम्भावना पनि जीवित देख्छु । फिल्मको हिसाबमा लगानीको जुन रिटर्न हुन्छ, त्यसअनुसार रंगमञ्चमा अधिक सम्भावना देख्छु । यहाँको रंगमञ्चमा पाँच हजार दर्शक पोटेन्सियल दर्शक हो । दुई सय जना दर्शक एउटा शोमा भएको दरले २५ दिन चल्नु पोटेन्सियल बजार हो । यसले ठूलो रोजगारी पनि सृजना गर्छ ।

अन्य मुलुकमा नाटकमाथि काम गर्दैगर्दा उनीहरुले फेदैबाट गरेका छन् । उनीहरुले फेदैबाट आफ्नो कथ्य शैलीको विकास गरेका छन् । युरोपियन थिएटरको कुरा गर्दा उनीहरुको कथावाचन र अभिनय शैली फेदैबाट विकास भएको छ । उनीहरुले हिजोको एरिस्टोटलीन शैलीलाई छाडेका पनि छैनन् । र, नयाँ अभ्यास पनि गरिरहेका छन् । भारतमा पनि उनीहरुको फेद राम्रो छ । तर, हामी चाहिँ हामीले खोजेको संरचना यही बनाएर जाने भनेर भन्न सक्दैनौं होला । हामीले खोजेको कुरा त आउला । तर, कथा यही हो भनेर छुट्याउन सक्दैनौं होला । परिवेश र घटनाले मात्रै समग्रमा नेपाली नाटक नबनाउला जस्तो लाग्छ ।

म आफूलाई चाहिँ निर्देशकभन्दा पनि कथावाचक भन्न रुचाउँछु । प्राविधिक रुपमा निर्देशन पनि गरेको छु । ‘चोरको स्वर’मा हामीले कथा यसरी भनौं भनेर सल्लाह गरेर काम गर्‍यौं । कलाकारलाई कथा बुझाएर, पात्रहरुलाई आफै मिलाउँदै/छाँटकाँट गर्दै काम गरेका हौं ।

नाटक स्टेजमा गइन्छ, हेरिन्छ भन्ने स्टेरियोटाइपको मनसाय छैन हाम्रो । कहिलेकाहीँ नाटक हेर्न सामान्य व्यक्ति गएर बुझ्न पनि सक्दैन होला । हामीले चाहिँ लिम्बू समुदायमा भएको भागी विवाह भन्ने अभिप्रायमात्रै राख्यौं । नाटक हेरेपछि दर्शकलाई बौद्धिक खुराक पाएँ भन्दा पनि लिम्बूको बिहेमा गएँ भन्ने होस् भन्ने हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *