शीर्ष स्थानको ओमानसँग प्रतिस्पर्धा- ९ महिनाअघि नेपालले गरेको थियो १२१ रनमा अलआउट – Nepal Press

शीर्ष स्थानको ओमानसँग प्रतिस्पर्धा- ९ महिनाअघि नेपालले गरेको थियो १२१ रनमा अलआउट

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला बिहीबार राति शीर्ष स्थानमा रहेको ओमानसँग खेलेर सुरु गर्दैछ ।

संयुक्त राज्य अमेरिकाको हुस्टनस्थित प्रेऐरी भिउ क्रिकेट कम्प्लेक्समा हुने खेल नेपाली समयअनुसार बेलुका ९ः१५ बजे सुरु हुनेछ ।

सात टोली रहेको विश्वकप लिग- २ मा नेपाल १२ खेलबाट १२ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानमा रहेको ओमानको ३३ खेलबाट ४० अंक छ ।

२० खेलबाट २८ अंक जोड्दै स्कटल्यान्ड दोस्रोमा छ । २२ खेलबाट यूएईको २६, २१ खेलबाट अमेरिकाको २० र नामिबियाको १४ खेलबाट १४ अंक छ । पुछारमा रहेको पपुआ न्युगिनी (पीएनजी)को २० खेलबाट २ अंक रहेको छ ।

विश्वकप लिग- २ अन्तर्गत हरेक टोलीले ९ वटा त्रिकोणात्मक शृंखला खेल्नेछ । जसमा एउटा टोलीले ३६ खेल खेल्नुपर्नेछ । प्रत्येक शृंखलामा एउटा टोलीले दुवै टोलीसँग दुई-दुई खेल गरी चार खेल खेल्नुपर्छ ।

प्रतियोगिताका शीर्ष तीन टोली आगामी एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् । सन् २०१८ मा प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपाललाई विश्वकप लिग- २ महत्वपूर्ण मानिएको छ ।

यसअघि अमेरिका, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २०२० को फेब्रुअरीमा नेपालमा भएको थियो । त्यतिबेला नेपालले अमेरिकासँगका दुवै खेल जितेको थियो भने ओमानसँग भएका दुवै खेलमा पराजय व्यहोरेको थियो ।

त्यसपछि यी नै टोलीबीच ओमानमा गत सेप्टेम्बरमा भएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले अमेरिका र ओमानसँग समान एक जित र एक हारको नतिजा निकालेको थियो । त्यतिबेला ओमानसँग पहिलो खेलमा सुरुवातमा ब्याटिङ गरेको नेपाल १९६ रनमा सीमित भएको थियो । करिब १९ ओभर बाँकी रहँदै ओमानले ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

घरेलु टोलीसँग भएको दोस्रो खेलमा भने नेपालले सानदार पुनरागमन गर्‍यो । पहिला ब्याटिङ गरेको ओमान केवल १२१ रनमा समेटिएको थियो । नेपालले करिब २८ ओभरको खेल बाँकी रहँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

त्यसयता एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ओमानसँग पहिलोपटक खेल्दैछ । तर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने यी दुई टोलीबीच चार महिनाअघि मात्र भेट भएको थियो । गत फेब्रुअरीमा नेपालले ओमानमा घरेलु टोलीसँग तीन टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो । नेपाली टोली ती तीनवटै खेलमा विजयी भएको थियो ।

विश्वकप लिग- २ मा ओमानले खेलेका ३३ मध्ये १९ खेलमा जित हात पारेको छ भने १२ खेलमा हार व्यहोरेको छ । एक खेल बराबरीमा सकिएको थियो भने एक खेल रद्द भएर अंक बाँडेको थियो । अमेरिकामा जारी यो शृंखलामा ओमानको सुरुवात राम्रो रहन सकेको छैन । पहिलो खेलमा बुधबार अमेरिकाले ओमानलाई ११४ रनले हराएको छ ।

३२४ रनको लक्ष्य पाएको ओमानले ४३ ओभर तीन बलमा अलआउट हुँदै २०९ रनमात्र जोड्न सकेको थियो । दुई अमेरिकी ब्याट्सम्यानले शतक बनाएका थिए । ओमानका अनुभवी बलरहरु बिलाल खान र कालिमुल्लाह महंगो बनेका थिए ।

तयारीका लागि केही समय अगाडि नै अमेरिका पुगेको नेपाली टिमको पहिलो रोजाइका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेख घाइते भएपछि समस्यामा परेको छ ।

पाँच वर्षपछि नेपाली टिममा पुनरागमन गरेका सुनिल धमलाले ओपनिङ गर्ने सम्भावना छ । यदि सुनिलले आजको खेल खेल्ने अवसर पाएमा उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नेछन् ।

नेपालले अन्तिमपटक गत मार्चमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । घरेलु मैदानमा पीएनजीसँग भएका दुवै खेलमा नेपाल पराजित भए पनि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए । रोहित र दीपेन्द्र दुवै जना उच्च लयमा छन् । आरिफ शेखको प्रदर्शन पनि गतिलो छ । बलिङतर्फ स्पीनमा सन्दीप लामिछाने र मिडियम पेसमा करन केसी र सोमपाल कामीमाथि नेपाल बढी निर्भर देखिन्छ ।

शृंखलाअन्तर्गत नेपालले दोस्रो खेल जेठ २८ मा अमेरिकाविरुद्ध, तेस्रो खेल जेठ ३१ मा ओमानविरुद्ध र अन्तिम खेल अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर