सबै रेकर्ड तोड्दै ‘कबड्डी ४’ बन्यो सर्वकालीन हिट, ११ दिनको कलेक्सन १७ करोडभन्दा बढी – Nepal Press

सबै रेकर्ड तोड्दै ‘कबड्डी ४’ बन्यो सर्वकालीन हिट, ११ दिनको कलेक्सन १७ करोडभन्दा बढी

काठमाडौं । १७ दिनमा १७ करोडभन्दा बढी कलेक्सन गर्दै रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ ले व्यापारको अभूतपूर्व कीर्तिमान कायम गरेको छ ।

छक्कापञ्जा ३ को लाइफटाइम कलेक्सनलाई उछिन्दै अहिलेसम्मकै सबैभन्दा सफल चलचित्रका रूपमा कबड्डी ४ दरिएको हो ।

चलचित्रका वितरण गोविन्द शाहीले आइतबारसम्म चलचित्रले १७ करोड ६५ लाख ग्रस कलेक्सन गरिएको जानकारी दिए । सोमबारको रिपोर्ट भने प्राप्त भइसकेको छैन । चलचित्रमा अझै दर्शकहरूको चाप उच्च रहेको उनले बताए ।

‘दर्शकको यस्तो फ्लो आजका दिनसम्म कुनै पनि नेपाली चलचित्रमा देखिएको थिएन,’ शाहीले नेपाल प्रेससँग भने, ‘अहिलेसम्म पनि अधिकांश हलहरूमा हाउस फुल चलिरहेको छ ।’

उनले गत शुक्रवार रिलिज भएका भारतीय चलचित्रहरूलाई पनि कबड्डी ४ ले विस्थापित गरिदिएको बताए । भारतीय सुपरस्टार अक्षय कुमारको चलचित्र ‘सम्राट पृथ्वीराज’ र दक्षिण भारतीय सुपरस्टार कमल हसनको फिल्म ‘विक्रम’ शुक्रवार विश्वव्यापी रिलिज भएका थिए । तर, नेपालका हलहरूमा कबड्डी ४ सँग टिक्न नसकेपछि यी दुवै चलचित्र सीमित शोमा खुम्चिएका छन् ।

‘विदेशी महँगो बजेटका विदेशी चलचित्रले नेपाली चलचित्रलाई धेरै पटक हलबाट विस्थापित गरे, तर अहिले ठिक उल्टो दृश्य देखिएको छ,’ शाही भन्छन्, ‘कबड्डीले भारतीय चलचित्रहरूलाई हलबाट विस्थापित गरिरहेको छ ।’

रिलिज भएको दिनदेखि नै कबड्डी ४ ले कीर्तिमानी व्यापार गर्दै आएको छ । पहिलो शनिवार फिल्मले तीन करोडभन्दा माथिको व्यापार गरेको थियो । दोस्रो शनिवार पनि दर्शकहरू कबड्डी ४ हेर्न हलमा ओइरिए । शाहीका अनुसार दोस्रो शनिवार अढाई करोड कलेक्सन भएको छ । आइतबार र सोमबार ८० लाखको हाराहारी व्यापार गरिरहेको उनले बताए ।

फिल्मको लाइफटाइम कलेक्सन ३० करोडसम्म पुग्न सक्ने अनुमान निर्माण पक्षले गरेको छ । यो चलचित्र ३ करोडको लागतमा बनेको हो । दोस्रो हप्तासम्म करिब १८ करोड कलेक्सन हुँदा निर्माताले ९ करोड रुपैयाँ कमाइसकेका छन् ।

यस चलचित्रले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । अस्ट्रेलिया, अमेरिका, युरोपदेखि जापानसम्म कबड्डी ४ ले व्यापारको नयाँ रेकर्ड कायम गर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *