विश्वविद्यालयहरु चुक्दा उद्याेग-व्यवसायले पाएनन् आवश्यक जनशक्ति – Nepal Press

विश्वविद्यालयहरु चुक्दा उद्याेग-व्यवसायले पाएनन् आवश्यक जनशक्ति

काठमाडौं । नेपाली विश्वविद्यालयहरुले उद्यमका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नसकेको उद्यमी तथा सरोकारवालाहरुले बताएका छन् । उद्यम तथा प्राज्ञिक क्षेत्रबीच आवश्यक सहकार्य र संवाद नहुँदा विश्वविद्यालयहरु दक्ष जनशक्ति उत्पादन गर्नमा चुकेको र व्यवसायले आफूले चाहेको जनशक्ति नपाएको अवस्था रहेको उनीहरुको भनाइ छ ।

जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दीपक काफ्लेले विद्यार्थीहरुलाई बजारमा पठाउनुअघि आधारभूत व्यवसायिक तथा प्राविधिक ज्ञान दिनु जरुरी रहेको बताए ।

शिक्षाविज्ञ प्राध्यापक डा. विद्यानाथ कोइरालाले विकसित देशहरुमा उद्योग र विश्वविद्यालयसँगै बसेर कोर्स डिजाइन गरिने भएकाले उनीहरु बजारमा सहजै बिक्ने तर नेपालमा भने त्यस्तो सहकार्यको अभावमा उच्च शैक्षिक संस्थाहरु प्रतिस्पर्धी जनशक्ति उत्पादनमा असफल भएको बताए ।

पर्यटन उद्यमी तथा प्यासिफिक एसिया ट्राभल एसाेसियसनका पूर्वसचिव वसन्तराज मिश्रले विश्वविद्यालयहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर आफ्ना पाठ्यक्रमहरु परिमार्जन गर्न सुझाए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालका अनुसार डिजिटल प्रविधिको तिब्रतर विकासले प्राज्ञिक क्षेत्र र उद्योगबीचको खाडल झनै बढाएको बताए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. भीमप्रसाद सुवेदीले हरेक वर्ष ९० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु विदेशका विश्वविद्यालयमा पुगिरहेको बताउँदै गुणस्तरीय शिक्षा र तालिमको सहायताले उनीहरुका लागि स्वदेशमै राम्रो आय गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

जनमैत्री बहुमुखी क्याम्पस काठमाडौं उपत्यकामा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रमाणपत्र (क्युएए) प्राप्त गर्ने पहिलो सामुदायिक क्याम्पस हो । २०४७ सालमा स्थापित यो क्याम्पसमा हाल करिब २ हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *