रोलान्ड गारोसमा फ्रेन्च ओपन फाइनलः गुरु-चेलाबीच भिडन्त – Nepal Press

रोलान्ड गारोसमा फ्रेन्च ओपन फाइनलः गुरु-चेलाबीच भिडन्त

काठमाडौं । फ्रेन्च ओपन फाइनलमा आज गुरु-चेला भिड्दैछन् । १४औं पटक फ्रेन्च ओपन जित्ने लक्ष्यमा रहेका कीर्तिमानी राफाल नाडालले आइतबार कास्पर रुडसँग प्रतिस्पर्धा गर्नेछन् ।

स्पेनिस खेलाडी नाडालले १४औं पटक फाइनल पुग्दासम्म ‘क्ले कोर्ट’मा १११औं पटक जित निकालेका छन् ।

विश्व वरियताको आठौं नम्बरका नर्वेजियन खेलाडी रुडले मालोर्कामा रहेको नाडालको एकेडेमीमा सन् २०१८ देखि प्रशिक्षण लिइरहेका छन् ।
‘यो मैले वर्षाैंदेखि देखेको सपना हो । उहाँ आफ्नै एकेडेमीको विद्यार्थीसँग खेल्दै हुनुहुन्छ । यो फाइनल एकदमै रमाइलो हुनेछ’, रुडले भने ।

रुड नर्वेबाट ग्रान्डस्लाम सिंगल्समा फाइनल पुग्ने पहिलो खेलाडी हुन् । ‘मैले कहिल्यै नखेलेको शीर्ष खेलाडीमध्ये एकमात्रै खेलाडी हुन् नाडाल । मलाई लाग्छ यो एकदमै उचित समय हो । यसले पर्खाइको मूल्य राख्छ । अन्ततः ग्रान्डस्लाम फाइनलमा उहासँग खेल्नु मेरो लागि विशेष क्षण हुनेछ’, रुडले थपे ।

पाँचौं वरियताका नाडालले सेमिफाइनलमा शुक्रबार प्रतिद्वन्द्वी एलेक्जेन्डर जेभरेभविरुद्ध ७-६ (१०-८), ६-६ ले लिड गरिरहेका थिए । तर, जेभरेभ खेलका क्रममा घाइते भएपछि उनी ‘फोर्स रिटायर’ भएका थिए ।

त्यसपछि नाडाल फ्रेन्च ओपन फाइनल खेल्ने सबैभन्दा ज्येष्ठ खेलाडी बने । यसअघि सन् १९३० मा अमेरिकी खेलाडी बिल टिलडेनले ३७ वर्षको उमेरमा फ्रेन्च ओपन खेलेका थिए । जहाँ उनी दोस्रो भएका थिए ।

नाडालले पहिलो पटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकाले रुडप्रति ठूलो सम्मान रहेको बताएका छन् । ‘टेनिसका लागि उनी राम्रो पात्र हुन् । उनी असाध्यै शान्त, नम्र र सिक्नका लागि सधैँ सकारात्मक मुड भएका खेलाडी हुन् । र, मलाई सबैभन्दा बढी असल मानिसहरुले उनीहरुको सपना पूरा गरेको हेर्न मन पर्छ’, नाडालले भने ।

‘म रुड र उसको परिवारका लागि धेरै खुसी छु, जसलाई म राम्ररी चिन्दछु । र, यो मेरो लागि ठूलो आश्चर्यको कुरा हैन । उनले पछिल्ला दुई वर्षहरुमा धेरै उत्कृष्ट कामहरु गरेका छन्’, नाडालले थपे ।

आइतबार फाइनल जिते नाडालल समान २० पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच र रोजर फेडेररभन्दा दुई उपाधि माथि रहनेछन् । सबैभन्दा धेरै २१औं पटक ग्रान्डस्लाम जितेका नाडालको ग्रान्डस्लाम संख्या २२ पुग्नेछ ।

यस्तै रुड अहिलेसम्म ग्रान्डस्लामको चौथो चरणभन्दा माथि पुगेका छैनन् । तर, सेमिफाइनलमा अनुभवी मारिन चिलिचलाई पराजित गर्दै आफ्नो करिअरको सबैभन्दा ठूलो खेल सेट गरे, जहाँ उनले लामो समयदेखि प्रेरणा बनेका राफेल नाडालको समाना गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर