ग्यास सिलिन्डरको वर्गीकरण गर्न फेरि गृहकार्य, व्यवसायिक सिलिन्डरको मूल्य साढे २५ सय पुग्ने ! – Nepal Press

ग्यास सिलिन्डरको वर्गीकरण गर्न फेरि गृहकार्य, व्यवसायिक सिलिन्डरको मूल्य साढे २५ सय पुग्ने !

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास सिलिन्डरलाई दुई प्रकारमा विभाजन गरेर भारी मूल्यवृद्धिको तयारी गरेको छ । घरमा प्रयोग गरिने र व्यवसायमा प्रयोग गरिने सिलिण्डलाई छुट्याएर मूल्य पनि फरक-फरक बनाउन लागिएको हो ।

व्यवसायिक प्रयोजनकाे सिलिन्डर महंगो हुने भएको छ । ग्यासको घाटा कम गर्न यो निर्णय लिइएको निगमले जनाएको छ । व्यवसायिक प्रयोजनकाे ग्यास सिलिन्डरको मूल्य २ हजार ५५१ रुपैयाँ १५ पैसा पुर्‍याउने तयारी छ ।

घरमा प्रयोग गर्ने ग्यास सिलिन्डरको मूल्य भने बढ्ने छैन । हाल निगमले २ हजार ५५१ रुपैयाँ १५ पैसामा प्रतिलिन्डर ग्यास गरिद गरेर १ हजार ८ सयमा बिक्री गर्दै आएको छ । निगमलाई ग्यासमा प्रतिसिलिन्डर करिब ७५० रुपैयाँ घाटा छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले घरायसी र व्यावसायिक प्रयोजन हुने ग्यासमा फरक-फरक मूल्य कायम गर्न उपसमिति गठन भएको बताए । उनले भने, ‘हाल निगमले १ करोड १२ लाख सिलिन्डर बिक्री गरिरहेको छ । जसमध्ये करिब ३० प्रतिशत व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने गरेको छ । व्यवसायिक प्रयोजनकाे लागत मूल्यमै ग्यास सिलिन्डर बिक्री हुन्छ । घरमा प्रयोग हुने ग्यास सिलिन्डरको मूल्य भने हालको नै कायम रहनेछ ।’

१ करोड १२ लाख सिलिन्डरमध्ये करिब ३० प्रतिशत अर्थात ३३ लाख ६० हजार सिलिन्डर व्यवसायिक प्रयोजनमा प्रयोग भइरहेको छ । अब उपसमितिले याे सिलिन्डरको मूल्य नै २ हजार ५५१ रुपैयाँ १५ पैसा तोक्ने छ ।

निगमको सञ्चालक समिति बैठकले सिलिन्डरको प्रकार विभाजन गर्न उपसमिति गठन गरेको हो । हिजोको बैठकले सो निर्णय गरेको उपाध्यायले बताए । उपसमितिको संयोजक सञ्चालकबाट नै छनाेट हुनेछ ।

उपसमितिले निर्णय गरेपछि घरायसीबाहेकका उद्योग, कलकारखाना, होटल र रेस्टुरेन्टमा प्रयोग गर्ने सिलिन्डरको मूल्यवृद्धि हुनेछ । यसभन्दा अघि पनि २ प्रकारकाे सिलिन्डर प्रयोगमा ल्याउने गृहकार्य भएको थियो । तर, त्यो लागू हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *