नाडालको कीर्तिमानी यात्रासामु साढे ६ फिटे जेभरेभ – Nepal Press

नाडालको कीर्तिमानी यात्रासामु साढे ६ फिटे जेभरेभ

पेरिस । सन् २००५ यता फ्रेन्च ओपनमा चारपटकमात्र रोकिएका छन् राफेल नाडाल । यसबीचमा १३ पटक फ्रेन्च ओपन च्याम्पियन बनेका छन् । ग्रान्डस्लाम टेनिसको इतिहासमा अन्य कुनै पनि खेलाडीले यति धेरै पटक एउटै ग्रान्डस्लाम जितेका छैनन् । र, ३६ वर्षको उमेरमा पनि नाडाल फेरि एकपटक फ्रेन्च ओपनको उपाधितर्फ लम्किएका छन् ।

नाडालले सेमिफाइनलमा जर्मनीका अलेक्जान्डर जेभरेभलाई हराउन सके २२औं पटक एकल ग्रान्डस्लाम हात पार्नेछ । गत जनवरीमा मात्र वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन जितेर उनी सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने खेलाडी बनेका थिए । उनले हालसम्म अस्ट्रेलियन ओपन २ पटक, विम्बल्डन २ पटक र यूएस ओपन ४ पटकसहित २१ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् ।

सर्बियाका नोभाक जोकोभिच र स्वीट्जरल्यान्डका रोजर फेडेररले समान २० पटक ग्रान्डस्लाम जितेका छन् । गत अस्ट्रेलियन ओपनपछि नाडाल सर्वाधिक विजेताका रुपमा एक्लै अघि बढेका हुन् । यसपटक फ्रेन्च ओपन जितेमा सर्वाधिक ग्रान्डसस्लाम जित्ने पुरुष खेलाडीका रुपमा उनको विश्व कीर्तिमान तोडिन थप कठिन हुनेछ ।

कठिन प्रतिद्वन्द्वी जोकोभिचलाई यसपटक नाडालले क्वार्टरफाइनलमै पाखा लगाएका थिए । सन् २००३ देखि नै ग्रान्डस्लाम खेल्न थाले पनि उनले फ्रेन्च ओपन भने दुई वर्षपछि मात्र सुरु गरेका थिए । नाडालले पहिलो सहभागितामै उक्त प्रतियोगिता जितेका थिए ।

लगातार चारपटक फ्रेन्च ओपन च्याम्पियन बनेका नाडाल सन् २००९ को संस्करणमा चौथो चरणबाट बाहिरिएका थिए । त्यतिबेला उनलाई रोबिन सोडरलिङले पराजित गरेका थिए । तर, अर्को वर्ष नै उनले सानदार पुनरागमन गरेका थिए । सन् २०१० देखि ५ वर्षसम्म नाडालले यो प्रतियोगिता अरुलाई जित्न दिएनन् । २०१५ मा क्वार्टरफाइनल र २०१६ मा तेस्रो चरणबाटै बाहिरिएपछि क्ले कोर्टमा खेलिने फ्रेन्च ओपनमा अब नाडाल युग सकिएको भनेर अनुमान सुरु भएको थियो ।

तर, सन् २०१७ देखि उनले सानदार पुनरागमन गरे र लगातार चारपटक फ्रेन्च ओपन जिते । गत वर्ष भने सेमिफाइनलसम्म मात्र पुगे । नाडाललाई हराउँदै फाइनल पुगेका जोकोभिचले उपाधि नै जितेका थिए ।

नाडालले सन् २०१५ यता सातपटक ग्रान्डस्लाम उपाधि जितेका छन् । त्यसमा फ्रेन्च ओपन ४ पटक, यूएस ओपन दुईपटक र अस्ट्रेलियन ओपन एकपटक जितेका छन्।  उनले यो वर्ष सन् २००९ पछि पहिलोपटक अस्ट्रेलियन ओपन जितेका हुन् ।

६ फिट एक इन्च उचाइ भएका नाडालले यसपटक उपाधि जित्न साढे ६ फिट उचाइका र आफूभन्दा ११ वर्ष कान्छा जेभरेभलाई हराउनु पर्नेछ । जेभरेभले हालसम्म ग्रान्डस्लाम उपाधि जित्न सकेका छैनन् । सन् २०२० मा यूएस ओपनमा फाइनलसम्म पुगेका थिए ।

नाडाल पछिल्लो समय खुट्टाको चोटले संघर्षरत छन् । ‘पछिल्लो साढे ३ महिना म यत्ति भन्न सक्छु कि मेरा लागि सजिलो भएको छैन’, नाडालले भनेका छन्, ‘यति अलिक सुधार भएन भने जेभरेभविरुद्ध निकै समस्या हुन सक्नेछ।’

विश्व वरियतामा नाडाल हाल पाँचौं र जेभरेभ तेस्रो स्थानमा छन् । जेभरेभसँग हालसम्म भएका ९ वटा भिडन्तमा नाडालले ६ खेल जितेका छन् । यीमध्ये पाँचपटक क्ले कोर्टमा हराएका छन् । जेभरेभ नाडालसँग भिड्नुअघि आत्मविश्वासी देखिएका छन् ।

‘म अहिले २० वा २१ वर्षको छैन । २५ वर्षको हुँ । यो उमेरमा उपाधि जित्ने रहर हुन्छ र उपाधि जित्ने अपेक्षा पनि गरिन्छ। हो, मैले नाडाल र जोकोभिचलाई हालसम्म हराउन सकेको छैन । तर मलाई हरेकपटक यस्तो लाग्थ्यो कि म नजिकै पुगेको थिएँ’, जेभरेभ भन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर