भक्तपुरका चार नपामध्ये चाँगुनारायणलाई बढी बजेट, मध्यपुर थिमि र सूर्यविनायकले पाएनन् विशेष अनुदान – Nepal Press

भक्तपुरका चार नपामध्ये चाँगुनारायणलाई बढी बजेट, मध्यपुर थिमि र सूर्यविनायकले पाएनन् विशेष अनुदान

काठमाडौं । भक्तपुरका चारवटा नगरपालिकामध्ये चाँगुनारायणले सरकारबाट सबैभन्दा बढी बजेट पाएको छ । भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ६६ करोड ७२ लाख रुपैयाँ पाएको हो ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, सशर्त अनुदानतर्फ ४२ करोड २३ लाख, विशेष अनुदान २ करोड र समपूरकतर्फ ४ करोड गरी ६६ करोड ७२ लाख रुपैयाँ बजेट पाएको हो । यसमा पनि चालूतर्फ ४९ करोड ७९ लाख र पूँजीगत १६.९३ लाख रुपैयाँ पाएको हो ।

चाँगुनारायणपछि भक्तपुर नगरपालिकाले बढी अन्तरसरकारी बजेट पाएको छ । उसले समानीकरणतर्फ २३ करोड ६९ लाख, सशर्ततर्फ ३६ करोड ५० लाख, विशेष अनुदान ३ करोड र समपूरकतर्फ ५० लाख रुपैइाँ बजेट पाएको हो ।

जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका भक्तपुरले चालूतर्फ ५९ करोड ३४ लाख र पूँजीगततर्फ ४ करोड ३५ लाख रुपैयाँ सरकारी बजेट पाएको हो ।

तेस्रोमा सूर्यविनायक नगरपालिकाले ६२ करोड ८५ लाख रुपैयाँ सरकारी बजेट पाएको छ । उसले समानीकरणतर्फ २२ करोड ७७ लाख र सशर्ततर्फ ४० करोड ८ लाख रुपैयाँ पाएको हो । जसमा चालूतर्फ ४८ करोड ७५ लाख र पूँजीगततर्फ १४ करोड १० लाख रुपैयाँ अन्तरसरकारी बजेट पाएको छ ।

जिल्लामा सबैभन्दा कम संघीय सरकारको बजेट पाउने नगरपालिकामा मध्यपुर थिमि परेको छ । उसले अन्तरसरकारी हस्तान्तरणमार्फत ५० करोड ३ लाख रुपैयाँमात्रै पाएको हो ।

उसले समानीकरणतर्फ २४ करोड १९ लाख, सशर्ततर्फ २५ करोड १४ लाख र समपूरकमा ७० लाख रुपैयाँ बजेट पाएको हो । जसमा चालूतर्फ ४६ करोड १९ लाख र पूँजीगततर्फ ३ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

मध्यपुर र सूर्यविनायकले पाएनन् विशेष अनुदान

भक्तपुर र चाँगुनारायणले संघीय सरकारबाट विशेष अनुदान पाउँदा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका भने बञ्चित भए । तिनीहरुले विशेष अनुदानको रुपमा संघीय सरकारबाट शून्य बजेट हात पारे ।

भक्तपुरले ३ करोड र चाँगुनारायणले २ करोड विशेष अनुदान पाउँदा मध्यपुर र सूर्यविनायकको हातमा शून्य अनुदान परेको हो ।

त्यस्तै तीन नगरपालिकाले समपूरक बजेट पाउँदा सूर्यविनायक यो बजेटबाट पनि बिमुख भएको छ । चाँगुनारायणले सबैभन्दा बढी ४ करोड समपूरक बजेट पाएको छ । त्यस्तै मध्यपुर थिमिले ७० लाख र भक्तपुरले ५० लाख रुपैयाँ पाएको समपूरक बजेट सूर्यविनायकको भागमा शून्य परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *