पाँच वर्षअघि निर्देशकले नै गरेका थिए मिरुनामाथि ह्यारेसमेन्ट, यसरी राखियो घटना गुपचुप – Nepal Press

पाँच वर्षअघि निर्देशकले नै गरेका थिए मिरुनामाथि ह्यारेसमेन्ट, यसरी राखियो घटना गुपचुप

काठमाडौं । नायिक मिरुना मगर यतिबेला सामाजिक सञ्जालमा चर्चा र बहसको पात्र बनिरहेकी छन् । एक भिक्षुले आफूलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि समाज उनको पक्ष र विपक्षमा बाँडिएको छ । यद्यपि, सडक र सामाजिक सञ्जालको दबाबपछि उनले आरोपीसँग सम्झौता गर्न बाध्य भइन् ।

मिरुना ह्यारेसमेन्टको शिकार बनेको यो पहिलो घटना भने होइन । उनलाई पाँच वर्षअघि एक फिल्म निर्देशकले नै दुर्व्यवहार गरेका थिए, जुन घटना सार्वजनिक भएन । मिरुनाले न यसबारे मिडियामा बोलिन् न कतै उजुरी गरिन् । चलचित्रमा नयाँ भएकाले पनि उनले घटना सार्वजनिक गर्ने हिम्मत नराखेकी हुन् ।

यो घटना हो २०७४ सालको । एउटा चलचित्रमा उनी नायिकाको रूपमा आबद्ध भएकी थिइन् । चलचित्रको ७५ प्रतिशत सुटिङ सकिइसकेको थियो । साँगामा छायांकन चलिरहँदा एक दिन निर्देशकले उनलाई स्क्रिप्टमाथि छलफल गर्ने बहानामा त्यहाँ रहेको साँखु रिसोर्टमा निम्त्याए । उनले मिरुनामाथि दुर्व्यवहार गरे । मिरुनाले प्रतिकार गरेर निर्देशकबाट फुत्किइन् । फिल्म निर्मातालाई घटना सुनाइन् ।
त्यसपछि निर्माताले तत्काल एक्सन लिएर निर्देशक र दुई सहायक निर्देशकलाई ‘फायर’ गरे भने मिरुनालाई घटना बाहिर नल्याउन आश्वस्त तुल्याए । मिरुना पनि सहमत भइन् ।

२५ प्रतिशत छायांकन सम्पन्न भए पनि निर्देशक फालिएसँगै यो चलचित्रको काम अवरुद्ध भयो । चलचित्रको निर्माण नै पूरा हुन सकेन । यसका निर्माता अहिले अमेरिकामा छन् ।

000

मिरुनाले निगम श्रेष्ठ निर्देशित चलचित्र ‘लालपुर्जा’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन् । धरानमा जन्मेकी उनको स्थायी बसोबास बेलायतमा छ । उनका पिता बेलायती नागरिक र आमा नेपाली हुन् । मिरुना २०७२ सालको भूकम्पपछि समाजसेवाको उद्देश्यले नेपाल आएकी थिइन् । त्यसपछि यतै रमाइन् ।

कलाकारिता क्षेत्रमा सानैदेखि रुची भएकी उनले नेपालमै अभिनय सिकेकी थिइन् । त्यसपछि उनलाई ‘लालपुर्जा’ मा अफर आएको हो । यो चलचित्रले व्यवसायिक सफलता प्राप्त गर्न सकेन ।

‘लालपुर्जा’ पछि उनले ‘रोज’, ‘साइनो’ ‘चचहुईं’ लगायतका चलचित्रमा काम गरिन् । तर, यी सबै चलचित्र बक्स अफिसमा फ्लप भए । मिरुनाले ‘कबड्डी ४’ बाट पहिलोपटक सफलताको स्वाद चाखेकी हुन् । यससँगै करिअरले नयाँ गति लिने आशा उनले राखेकी छन् । तर, अहिलेको स्क्यान्डलले उनको करिअरमा के-कस्तो असर पर्ने हो आगामी दिनमा देखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *