बजेटले आर्थिक संकट बढाउने प्रदीप ज्ञवालीको टिप्पणी (भिडिओ) – Nepal Press

बजेटले आर्थिक संकट बढाउने प्रदीप ज्ञवालीको टिप्पणी (भिडिओ)

काठमाडौं । एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटले आर्थिक स्थिरताभन्दा पनि थप संकटको पुनरोत्पादन गर्ने दाबी गरे ।

बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै ज्ञवालीले साथै व्यापार घाटा पनि घटाउन नसक्ने जिकिर गरे ।

अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकी बजेट ल्याएको ज्ञवालीको आरोप छ ।

‘बजेटले मूलभूत समस्या सम्बोधन गर्दैन’

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट मुलुकको अर्थतन्त्रका मूलभूत समस्याबाट भागेको बताएका छन् ।

प्रतिनिधिसभामा चलिरहेको बजेटमाथिको छलफलमा बोल्दै उनले प्रस्तुत बजेट मूलभूत समस्यालाई सम्बोधन गर्नुको साटो बाहिर-बाहिर पात-पात र सतह-सतहमा कुदेको बताए ।

सांसद ज्ञवालीले समाजवादमा विश्वास गर्ने अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा आजको हाम्रो उत्पादक शक्तिको मुख्य बाधक के हो ? के कारणले हाम्रो उत्पादक शक्ति प्रस्फुटित हुन पाइरहेको छैन ? त्यो बाधक उत्पादन सम्बन्धलाई कसरी उत्पादक अनुकूल बनाउन सकिन्थ्यो ? भन्ने प्रश्नको उत्तरमा फोकस हुन जरुरी रहेको बताए ।

‘त्यसपछि आर्थिक वृद्धिमा केन्द्रित हुँदै त्यसको लाभ न्यायोचित तरिकाले जनताले पाउने गरी त्यसको सुनिश्चित त्यसको फ्रेमवर्क निर्माण गरिनुपर्थ्याे’, सांसद ज्ञवालीले भने, ‘आर्थिक नीतिमा एकखालको स्थिरता र पूर्वानुमान गर्न सकिने सम्भाव्यताको जरुरी हुन्थ्यो र स्वदेशी विदेशी लगानीकर्ताहरूमा एकखालको विश्वास जगाउनसक्ने, विश्वको अर्थतन्त्र कता गइरहेको छ त्यो बहावलाई ध्यानमा राखेर यो बजेट बन्नुपर्थ्याे ।’

यसो गरिरहँदा २ वटा कुरामा अर्थमन्त्रीको ध्यान जान जरुरी आफूले महसुस गरेको सांसद ज्ञवालीले बताए । पहिलोमा वर्तमान विश्व अर्थतन्त्र प्रतिकूलतातिर धकेलिँदै गरेको, कोभिडको असर कायमै रहेको र दोस्रो अर्थतन्त्र चीन र अमेरिकाको बीचमा व्यापार युद्ध र तनावको स्थिति रहेको, विश्व व्यापार संगठन एकदमै निस्प्रभावी बनेको, रुस-युक्रेन युद्धले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा ठूलो प्रभाव पारेको, ऊर्जा तथा खाद्य संकट सघन बन्दै गरेको र जलवायु परिवर्तनका असरलाई ध्यान दिनुपर्ने अवस्था रहेको उनले बताए ।

उनले भने, ‘यी सबै कुरालाई ध्यानमा राखेर बजेट बन्नुपर्थ्याे । त्यसका लागि यो प्रतिकूलतालाई त्यो कुशलतासहितको बजेट चाहिन्थ्यो । जुन अर्थमन्त्रीज्यूले ध्यान दिनुभएन ।’

आन्तरिक रुपमा भयावह बन्दै गरेको व्यापार घाटा, जोखिमको विन्दुमा पुगेको विदेशी मुद्रा सञ्चिती, विकराल भइरहेको मूल्यवृद्धि, घट्दो उत्पादन र उत्पादकत्व, न्यून पूँजीगत खर्च, सार्वजनिक सेवामा जनताले भोग्ने गरेको सास्ती, जसमा बिचौलिया दलाल पूँजीको वर्चश्वलाई ध्यान दिएर बजेट निर्माण गर्नुपर्ने आवश्यकता आफूले महसुस गरेको सांसद ज्ञवालीले बताए ।

‘बाह्य अर्थतन्त्रका प्रभावहरूलाई सक्ड अब्जर्भर र आन्तरिक अर्थतन्त्रमा बाधक परेका चीजहरूको निकासमा आधारित बजेट हुनुपर्थ्याे । तर, भएन’, उनले भने, ‘बजेट पढ्दै जाँदा यी समस्याहरूमा निरपेक्ष, एकदमै बेखबर जस्तो र कतिपय अवस्थामा एकदमै संवेदनहीन जस्तो देखिनुभयो । मैले त्यस्तो अपेक्षा गरेको थिएन । त्यसैले मेरो निष्कर्ष यस बजेटले मूलभूत समस्याहरूलाई सम्बोधन गर्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *