‘मोम्चो’ कथा संग्रहः पत्रकारले लेखेको समाजको कथा – Nepal Press

‘मोम्चो’ कथा संग्रहः पत्रकारले लेखेको समाजको कथा

काठमाडौं । आख्यानकार बसन्त पराजुलीद्वारा लिखित कथा संग्रह ‘मोम्चो’बारे परिचर्चा कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा सहभागी समालोचक, साहित्यकार तथा समीक्षकहरुले ‘मोम्चो’ले नेपाली समाजका यथार्थ कथाहरुलाई अभिव्यक्त गरेको बताए ।

चितवनमा २ दशकभन्दा लामो समयदेखि पत्रकारिता गरेका पराजुलीको दोस्रो कथा संग्रह ‘मोम्चो’मा ११ वटा कथा संग्रहित छन् । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको ‘मोम्चो’बारेको परिचर्चामा भाग लिँदै वरिष्ठ समालोचक डा. लक्ष्मणप्रसाद गौतमले पत्रकारले लेखेको कथा भएकाले पनि समाजको यथार्थ चित्रण कृतिमा समेटिएको बताए ।

चेपाङ समुदायका महिलाको अवस्था, बाल विवाहले निम्त्याएको सामाजिक समस्या र नारी संवेदनासँग जोडिएका कथाहरुले ‘मोम्चो’लाई सशक्त बनाएको गौतमले बताए ।

‘मोम्चो’माथि परिचर्चा गर्दै साहित्यकार सावित्री कक्षपतीले ‘मोम्चो’मा संग्रहित कथाले समाजमा विद्यमान लैगिंक विभेद र सरोकारलाई उत्खनन् गरेको बताइन् । ‘नारीलाई भोग्यमात्रै ठानिएका र नारीले भोग्न चाहेका दुवैखाले सन्दर्भका कथा समेटिएका छन् । ‘मोम्चो’का कथाहरुले लेखक बसन्त पराजुलीलाई महिला संवेदना बुझेको स्रष्टाका रुपमा स्थापित गरेको छ’, उनले भनिन् ।

वरिष्ठ नाट्यकर्मी अशेष मल्लले हरेक स्रष्टाका कथाले पात्र र परिवेशलाई सशक्त ढंगले उठान गर्नुपर्ने बताउँदै ‘मोम्चो’मा त्यो सम्भावना देखेको बताए । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले लामो समय पत्रकारिता गरेका लेखक पराजुलीले प्रारम्भिक २ कृतिबाट आफूलाई सशक्त कथाकारका रुपमा स्थापित गरेको बताए ।

‘उहाँको पहिलो कथासंग्रह ‘कुमाता’ र दोस्रो कथा संग्रह ‘मोम्चो’ले प्राप्त गरेको सफलताले नै उहाँको उपस्थितिलाई समकालीन साहित्यमा दर्‍हाे बनाइसक्यो’, उनले भने ।

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले समाजका यथार्थ कथाहरुसँग पत्रकारहरुको नियमित घुममिल भइरहने हुँदा पत्रकारले लेखेको कृतिमा काल्पनिकतामात्रै नभएर यथार्थ चित्रणसमेत हुने उल्लेख गरे । ‘मोम्चो’का लेखक बसन्त पराजुलीले आफूलाई प्राप्त सुुझाव र प्रतिक्रियाले लेखकीय निखारता बढाउन मद्दत गर्ने भन्दै धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *