प्राधिकरणको नियममा कडाइ- मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने – Nepal Press

प्राधिकरणको नियममा कडाइ- मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने

काठमाडौं । अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो ।

दुई दिनअघि मुस्ताङको खासाङमा तारा एयरको विमान दुर्घटना भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्रलाल कर्णले भने, ‘अबदेखि हामीले इनरुट मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौं,’

अहिलेसम्म विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिँदै आएको थियो । उडानको बाटोलाई भने समेटिदैन थियो ।

अबदेखि भने इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको हो । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटो समेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय प्राधिकरणले गरेको हो । यो निर्णयले हवाई दुर्घटना कम गर्न मद्दत मिल्ने उनको भनाई छ ।

यस्तो निर्णय भीएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ । भीएफआर भन्नाले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि हो । तर, आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागू नहुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *