नायिकामाथि ‘ब्याड टच’ प्रकरणः तामाङलाई छुटाउने तयारी, कबड्डीको टिम बुद्धिष्ट संघ-संस्थासँग छलफलमा – Nepal Press

नायिकामाथि ‘ब्याड टच’ प्रकरणः तामाङलाई छुटाउने तयारी, कबड्डीको टिम बुद्धिष्ट संघ-संस्थासँग छलफलमा

सामाजिक सञ्जालमा पनि आफूलाई ह्यारेसमेन्ट गरिएको भन्दै मिरुना तनाबमा

काठमाडौं । कबड्डी-४ कि नायिका मिरुना मगरलाई हलभित्र ‘ब्याड टच’ गरेको आरोपमा थुनिएका युवालाई छुटाउने तयारी गरिएको छ । सामाजिक सञ्जालमा तीब्र प्रतिक्रया उत्पन्न भएपछि मिरुना समझदारीमा जान लचक बनेको स्रोतले बतायो ।

सिभिल मलभित्र फिल्म हेरेर निस्कने क्रममा तामाङ थरका युवकले आफूमाथि पिठ्यूमा गलत तरिकाले छोएको नायिकाको आरोप छ । उनले तामाङलाई प्रहरीको जिम्मा लगाएकी थिइन् । दुई दिनदेखि तामाङ प्रहरी हिरासतमा छन् । मिरुनाले हिजो उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी दिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद थपसमेत गरेको छ ।

तर, योबीचमा सामाजिक सञ्जालमा उल्टै आलोचना खेप्नुपरेपछि मिरुना तनावमा परेकी छन् । यथार्थ नबुझीकन आफूमाथि नकारात्मक टिप्पणी गरिएको उनको गुनासो छ ।

स्रोतले उनको भनाइ उद्धृत गर्दै भन्यो, ‘जुन भिडिओ बाहिर आएको छ, त्यसमा घटनाको दृष्य कैद भएको छैन ।’

यद्यपि, यो विषयमा मिरुना अहिले मिडियासँग मुख खोल्न तयार छैनन् । बारम्बार प्रयास गर्दा पनि उनको फोन रिसिभ भएन ।

मिरुनालाई निकटस्थहरूले पनि तामाङविरुद्धको उजुरी फिर्ता लिन सल्लाह दिएका छन् । उनले थप्पड हिर्काएको र आरोपीले माफीसमेत मागिसकेकाले मुद्दा चलाउनु अतिशयोक्ति हुने धेरैको टिप्पणी छ ।

रामबाबु भन्छन्ः छलफलमा छौं

‘कबड्डी ४’ का निर्देशक रामबाबु गुरुङले यो घटनाले ठूलो रुप लिएपछि समाधानका लागि आफूहरू प्रयासरत रहेको बताए । एकातिर धार्मिक व्यक्ति र अर्कोतिर महिला भएकाले सबैले पर्याप्त संवेदनशीलता देखाउनुपर्नेमा उनको जोड छ ।

‘घटना ठ्याक्कै के हो भन्ने हामीलाई पनि थाहा छैन । हामीले दुवै पक्षको कुरा सुन्ने हो । तर फिल्म प्रमोसन गर्न गएको मान्छेले स्पष्ट आधारबिना कुनै दर्शकलाई रहरले यस्तो आरोप लगाउने त कुरै आउँदैन नि,’ उनले भने ।

उनले तामाङका विभिन्न संघ-संस्थाहरूसँग छलफल सुरू भएको बताए । तामाङ घेदुङ संघ, बौद्ध समाजमा सम्पर्क गरेर आफूहरूले नै समझदारीको पहल गरेको उनको भनाइ छ ।

हिरासतमा रहेका तामाङलाई छुटाउने विषयमा प्रश्न गर्दा गुरुङले जवाफ दिए, ‘मेलमिलाप गर्दा जे गर्नुपर्ने हो त्यही अनुसार जानेछौं ।’

सुरक्षाबिना हलमा सेलिब्रिटी

आफ्नो चलचित्र रिलिज भएपछि सेलिब्रिटीहरू प्रमोसनका लागि हल-हलमा जाने परम्परा छ । उनीहरू दर्शकसँगै बसेर फिल्म हेर्न र आफ्नो वाहवाही सुन्न मन पराउँछन् ।

‘कबड्डी ४’ ले हाउसफुलको व्यापार गरिरहँदा यसका कलाकारहरू पनि हल-हलमा पुगेर दर्शकसँग संवाद गरेका थिए । यही क्रममा आइतबार सिभिल मलमा फिल्म हेरेर निस्कने क्रममा घटना भएको थियो ।

सार्वजनिक एउटा फुटेज हेर्दा नायिका मिरुना, अभिनेता सौगात मल्लसहित चलचित्रका कलाकारहरू दर्शकसँगै भिडभाडमा हलबाट बाहिर निस्किरहेका देखिन्छन् । भिडिओमा आरोपी तामाङ पनि देखिएका छन् । तर, उनले नायिकालाई टच गरेको दृष्य भिडिओमा कैद छैन ।

@karmasinghh

Actress miruna magar lae lama le tyesto garna taw nahunne ho..(repeatedly) she cried alot 😭😭 ani pacchi police ayyera sabai control ma liyo #karmasinghh #womenssafety #safeenvironment #equality

♬ original sound – Karma Singh

आम दर्शकहरूसँगै बाहिर निस्कँदा सेलिब्रिटीहरूका लागि सुरक्षा सतर्कता नअपाउनु फिल्म निर्माण पक्ष र हल सञ्चालकको कमजोरी देखिएको छ ।

निर्देशक गुरुङले भने सेलिब्रिटीहरूका लागि ४-५ जना मान्छे खटाइएको दाबी गरे । तर, यस्तो घटनाको अनुमान नगरिएको उनको भनाइ छ ।

चलचित्रलाई असर गर्ने संकेत

नायिका विवादमा परेपछि कबड्डी ४ को उत्साहजनक व्यापारमा असर गर्न सक्ने जोखिम देखिएको छ । नायिकाले निर्दोषलाई फसाएको दाबी गर्दै सामाजिक सञ्जालमा धेरैले यो चलचित्र बहिष्कार गर्ने बताइरहेका छन् ।

निर्देशक गुरुङ भने चलचित्रको व्यापार अहिले प्रमुख विषय नभएको बताउँछन् ।

‘व्यापार खस्किन्छ कि खस्किँदैन भन्नेमा अहिले हाम्रो सरोकार होइन,’ उनले भने, ‘विषय अत्यन्त संवेदनशील भएको हुँदा दुवै पक्षलाई समझदारीमा ल्याएर समाधान निकाल्नु पहिलो प्राथमिकता हो ।’

गत शुक्रबार रिलिज भएको ‘कबड्डी ४’ ले कीर्तिमानी व्यापार गरिरहेको छ । फिल्मले ३ दिनमै ८ करोडको व्यापार गरेको दाबी गरिएको छ ।

 

प्रतिक्रिया

One thought on “नायिकामाथि ‘ब्याड टच’ प्रकरणः तामाङलाई छुटाउने तयारी, कबड्डीको टिम बुद्धिष्ट संघ-संस्थासँग छलफलमा

  1. समाचार सम्प्रेषण गर्दा न्युज सम्पादकीयमा बिचार पुराउन जरुरि छ l तपाइहरुले पटक पटक तामाङ शब्दको प्रयोगलाई गम्भीरता पुर्वक हेरेको छु यसरि प्रयोग गरेको तरिकाले सिङ्गो समुदाय प्रतिको भावनामा चोट पुग्ने कुरा ख्याल राख्नु जरुरि छ ति युवक भन्दा घटनाक्रममा पाठकले बुझन सक्थे भन्ने मेरो बुझाइ हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *