विमान दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन प्रभाकर, जसले संकटा क्लबलाई ए डिभिजनमा पुर्‍याएका थिए – Nepal Press

विमान दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन प्रभाकर, जसले संकटा क्लबलाई ए डिभिजनमा पुर्‍याएका थिए

काठमाडौं । मुस्ताङमा भएको हवाई दुर्घटनामा ज्यान गुमाएका तारा एयरका क्याप्टेन प्रभाकरप्रसाद घिमिरे पूर्वखेलाडी हुन् । उनले ए डिभिजन लिग फुटबल पनि खेलेका थिए र उपाधि पनि जितेका थिए । तत्कालिन संकटा ‘ह्वाइट’लाई ए डिभिजनमा उकाल्दा प्रभाकर टोलीका कप्तान थिए ।

‘त्यतिबेला संकटा रेड ए डिभिजनमै थियो । प्रभाकरको कप्तानीमा रहेको संकटा ह्वाइट पनि उक्लिएपछि ए डिभिजन लिगमा संकटाका दुईवटा टिम थिए’, संकटामा घिमिरेसँगै खेलेका पूर्वफिफा रेफ्री सुरेन्द्र सिखाकारले भने ।

उनका अनुसार प्रभाकरले आफ्नो फुटबल खेलाडी जीवन संकटामै बिताएका थिए । ‘सायद उहाँ २०३२/३३ सालदेखि २०४४/४५ सालसम्म संकटाबाट खेलेको हुनुपर्छ । २०४२ सालमा संकटा रेडले ए डिभिजन लिग जित्दा हामी दुवै जना टोलीमा थियौ‌’, सिखाकारले भने ।

संकटा ह्वाइट केही वर्षमै बी डिभिजनमा झरेपछि प्रभाकरले संकटा रेडबाट खेल्न थालेको उनी सम्झन्छन् । ‘उहाँ अत्यन्तै घ्यू मान्छे । आफूभन्दा सानालाई मोटिभेट गर्नुहुन्थ्यो भने ठूलालाई निकै आदर । खेल्न पनि निकै चुस्त’, सिखाकारले थप्छन् ।

प्रभाकर मिडफिल्डर थिए । तर उनले राष्ट्रिय टोलीमा भने स्थान बनाउन सकेनन् । संकटा क्षेत्रमा जन्मिएका प्रभाकर पछिल्लो समय कीर्तिपुरको ट्याङ्लाफाँटमा बस्दै आएका थिए । उनका दुई छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर