गुजरातलाई पहिलो सहभागितामै आईपीएल जिताएका कप्तान पान्ड्या भन्छन्- अब विश्वकपको पालो – Nepal Press

गुजरातलाई पहिलो सहभागितामै आईपीएल जिताएका कप्तान पान्ड्या भन्छन्- अब विश्वकपको पालो

नयाँ दिल्ली । भारतीय अलराउन्डर हार्दिक पान्ड्याको चर्चा यतिबेला ह्वात्तै बढेको छ । गुजरात टाइटन्सलाई पहिलो सहभागितामै इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जिताएपछि पान्ड्याको क्षमताबारे तारिफ भइरहेको छ । गुजरातको सफलतामा उनले अग्रपंक्तिमा रहेर प्रदर्शन गरेका थिए ।

फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दा पान्ड्याको प्रदर्शन निर्णायक रहेको थियो । उनले बलिङतर्फ चार ‌ओभरमा १७ रन खर्चिएर तीन विकेट लिएपछि राजस्थान केवल १३० रनमा सीमित भएको थियो । पान्ड्याले तीन विस्फोटक ब्याट्सम्यान सन्जु सामसन, जोस बटबलर र सिमरन हेटमेयरलाई आउट गरेका थिए ।

सामान्य लक्ष्य पछ्याउने क्रममा पान्ड्याले ३४ रन बनाए । पान्ड्याको यो पहिलो आईपीएल ट्रफी भने थिएन । यसअघि मुम्बई इन्डियन्सका लागि चार पटक जितेका थिए । सन् २०१५ मा मुम्बई  इन्डियन्समा आबद्ध उनले त्यहाँ ६ सिजन आईपीएल खेलेका थिए ।

संयोग नै मान्नुपर्छ, मुम्बई इन्डियन्समा पनि आफ्नो पहिलो सिजनमै उनले आईपीएल जितेका थिए । त्यसपछि सन् २०१७, २०१९ र २०२० सिजन पनि आईपीएल मुम्बईले जितेको थियो । गत वर्ष भएको मेगा अक्सनमा मुम्बईले पान्ड्यालाई रिलिज गरेपछि उनी अन्य टोलीमा जान सक्ने अवस्था बनेको थियो ।

मेगा अक्सनमार्फत नवप्रवेशी गुजरात टाइटन्सले उनलाई कप्तान बनाएपछि आईपीएलमा नेतृत्व गर्ने अवसर पाएका थिए, पहिलोपटक । उनी आईपीएलको इतिहासमै पहिलो सहभागितामै उपाधि जिताउने दोस्रो कप्तान बनेका छन् । यसअघि सन् २००८ मा सेन वाट्सनले राजस्थानका लागि यस्तो सफलता दिलाएका थिए ।

२८ वर्षीय पान्ड्याले गुजरातका लागि जितेको ट्रफी यसअघि मुम्बईका लागि जिते बराबर रहेको बताएका छन् । ‘आईपीएल जित्नु सधैँ विशेष अनुभव हुन्छ । म आफूलाई निकै भाग्यमानी ठान्छु कि आईपीएलमा पाँचपटक फाइनल खेलेँ र पाँचैपटक उपाधि जितेको छु’, गुजरातका लागि उपाधि जितेपछि पान्ड्याले भनेका छन् ।

गुजरातमै जन्मिएका पान्ड्याका दाजु क्रुनाल पनि क्रिकेटर हुन् । पान्ड्या पाँच वर्षको हुँदा छोराहरुलाई क्रिकेट सिकाउन उनका बुबाले परिवारकाे बसाइ बारोडा सारेका थिए ।

पान्ड्याले टी-२० क्रिकेटमा हालसम्म १९० खेलका १६२ पाली खेल्दै १२ अर्धशतकसहित ३ हजार २८४ रन बनाएका छन् । ती खेलमा उनले ११८ विकेट लिएका छन् । त्यसमा पनि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५४ खेलका ३६ पालीमा ५५३ रन जोडेका छन् । उनले ४२ विकेट पनि हात पारेका छन् ।

भारतलाई उपाधिको खडेरी

पान्ड्याले भारतका लागि विश्वस्तरको उपाधि जित्ने सौभाग्य प्राप्त गरेका छैनन् । सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले सन् २०१३ यता विश्वस्तरको उपाधि जित्न सकेको छैन ।

भारतले अन्तिम उपाधिका रुपमा सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो । विश्वकपका रुपमा पछिल्लोपटक सन् २०११ मा एकदिवसीय हात पारेको थियो । सन् २०१६ र २०१८ मा भारतले एसिया कप भने जितेको थियो ।

हार्दिक अब भारतका लागि उपाधि जित्न चाहन्छन् । यसै वर्ष हुने टी-२० विश्वकप जित्ने उनको चाहना रहेको छ । भारतले सन् २००७ मा टी-२० विश्वकप जितेको थियो । त्यसयता यो प्रतियोगितामा एकपटक फाइनल पुगेको थियो ।

सन् २०१४ मा भारतले उपाधि भिडन्त गरेको थियो भने त्यसको दुई वर्षपछि मात्र पान्ड्याले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यस वर्ष भारत टी-२० विश्वकपको सेमिफाइनलसम्म पुगेर बाहिरिएको थियो ।

सन् २०१७ मा आयोजित च्याम्पियन्स ट्रफीमा पनि भारत फाइनल पुगेको थियो । तर, उपाधि भिडन्तमा पाकिस्तानसँग पराजय व्यहोरेको थियो । त्यतिबेला त्यस प्रतियोगितामा पान्ड्या भारतका सर्वाधिक रन जोड्ने ब्याट्सम्यान थिए ।

पान्ड्या भन्छन्, ‘भारतका लागि खेल्न पाउनु सधैँ सपना पूरा भएजस्तो लाग्छ, अन्य जतिसुकै खेलहरु खेलौं। भारतको प्रतिनिधित्व गर्न पाउँदा आनन्द लाग्छ । आज मैले जुन माया पाएको छु, त्यो सबै भारतीय टोलीका लागि खेलेका कारण हो ।’

उनी चाहन्छन्, आफ्नो योगदानमा भारतले विश्वकप उपाधि जितोस् । भन्छन्, ‘ढिलो या चाँडो म भारतका लागि विश्वकप जित्न चाहन्छु, अरु जेसुकै होस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर