ब्राजिलको विश्वकप आशा बढाएका युरोपियन च्याम्पियन्स लिग ‘विनर’ भिनिसियस – Nepal Press

ब्राजिलको विश्वकप आशा बढाएका युरोपियन च्याम्पियन्स लिग ‘विनर’ भिनिसियस

पेरिस । हरेक प्रतियोगितामा अघिल्ला चरणमा जतिसुकै फराकिलो जित हात पारे पनि उसको यात्रा फाइनल नजित्दासम्म अपूरै, अधूरै रहन्छ। खेलाडी र टिमलाई थाहा हुन्छ, फाइनल जितिएन भने अघिल्ला सबै मेहनत बेकाम हुन्छन् । त्यसैले भनिन्छ, उपाधि जित्नेहरुको कथा लेखिन्छ, फाइनलसम्म पुगे पनि उपाधि भिडन्त हार्नेहरुले मन बुझाउनेमात्र हो ।

यस अर्थमा ब्राजिलियन युवा विंगर भिनिसियस जुनियर यसपटक युरोपियन च्याम्पियन्स लिगका नायक बने । शनिबार राति भएको फाइनलका उनी म्याच विनर भए, रियल म्याड्रिड युरोपियन च्याम्पियन बन्यो । ५९औं मिनेटमा भिनिसियसले गरेको गोल खेलकै एकमात्र रह्यो र रियल म्याड्रिड समग्रमा १४ औं पटक युरोपियन च्याम्पियन भयो । पछिल्ला ९ संस्करणमा पाँचौंपटक विजेता बनेको रियल म्याड्रिड च्याम्पियन्स लिगको सर्वाधिक विजेता पनि हो ।

भिनिसियसले उपाधि जिताएपछि प्रिक्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनलमा रियल म्याड्रिडले २ गोलले पछाडि परेर लगातार उल्ट्याएका नतिजाहरु वर्षौंसम्म चर्चायोग्य बनेका छन् । रियलले उपाधि नजितेको भए ती पुनरागमनहरुको के अर्थ रहन्थे र ? रियल म्याड्रिडका करिब बेन्जेमा बेलोन डीआर र फिफा वर्ष खेलाडीका एक्लो दाबेदार हुने थिए होलान् ? तर जे होस्, विश्व फुटबलका होनहार युवा खेलाडीको पंक्तिमा भिनिसियसले आफूलाई उभ्याएका छन्, यही सिजनको प्रदर्शनले । क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी जस्ता खेलाडीको स्थान लिन संघर्षरत केलियन एमबाप्पेहरुलाई चुनौती बनेका छन् भिनिसियस ।

रोनाल्डो बाहिरिएपछि रियलमा आगमन

करियरको सुरुवाती चरणमा भिनिसियस ब्राजिलको आशाका किरण थिए । उनलाई नेमारसँग तुलना गरिन्थ्यो । लगातार तीन सिजन युरोपियन च्याम्पियन बनाएर सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोले छाडेपछि रियल म्याड्रिडले १८ वर्षमा हिँड्दै गरेका भिनिसियस भित्र्याएको थियो ।

रोनाल्डोविहीन रियल म्याड्रिड पाउनु भिनिसियसका लागि अवसर र चुनौती दुवै देखिन्थ्यो । तर, भिनिसियसलाई परिपक्व हुन निकै लामो समय लाग्यो । रियल म्याड्रिडमा पहिलो सिजन उनले ३१ खेल खेल्दै ४ गोल गरे । दोस्रो सिजन ३८ खेल खेलेका उनको नाममा ५ गोल रह्यो । तेस्रो सिजन ४९ खेल खेल्दा ६ गोल गरे । यो सिजन ५२ खेल खेल्दै २२ गोल गरे ।

युरोपियन च्याम्पियन्स लिगको यो सिजन ४ गोल र ६ असिस्ट गरेका भिनिसियस ला लिगामा भने १७ गोलसहित सर्वाधिक गोलकर्तामा तेस्रो रहेका थिए । उनले १६ गोलमा असिस्ट पनि गरे । यो सिजन उनी युरोपका शीर्ष ५ घरेलु लिग (इङ्लिस प्रिमियर लिग, सिरिए, ला लिगा, बुन्डेस लिगा र लिग वान) क्लबमा गोल र असिस्ट दुवैमा संलग्न हुनेमध्ये शीर्ष १० खेलाडीभित्र रहे ।

उल्लेखनीय के छ भने तीमध्ये भिनिसियस र टोट्टनहामका सन हिउङ मिनमात्र पेनाल्टीको गोलविनै शीर्ष १० भित्र रहेका छन् । यी दुवै खेलाडीले क्लबका लागि यो सिजन पेनाल्टी प्रहार गरेका थिएनन् । च्याम्पियन्स लिगमा यो सिजन भिनिसियसको प्रदर्शन समग्रमा बेजोड रहेको थियो । उनले प्रिक्वाटरफाइनलदेखि प्रत्येक चरणमा कम्तिमा असिस्ट गरेर गोलको योगदान गरे ।

प्रिक्वाटरफाइनलमा पीएसजी र क्वाटरफाइनलमा चेल्सीविरुद्ध एक एक असिस्ट गरेका भिनिसियसले सेमिफाइनलमा म्यानचेस्टर सिटीविरुद्ध एक गोल गरेका थिए । उनी फाइनलमा गोल गर्दै युरोपियन च्याम्पियन्स लिगको उपाधि भिडन्तमा यस्तो सफलता हात पार्ने इतिहासकै पाँचौं कान्छो खेलाडी बनेका छन् ।

भिनिसियस यो सिजनको सुरुवातदेखि नै चम्किन थालेका थिए । सन् २०२०/२१ सिजनको अन्तिम १२ खेलमा उनले एक गोल पनि गरेका थिएनन् न त कुनै गोलमा उनको असिस्ट नै रहेको थियो । तर, यो सिजनको सुरुका ११ खेलमै उनले क्लबका लागि ७ गोल र तीन असिस्ट गरेका थिए । यति सफलता उनले गत सिजनभर खेल्दा पनि प्राप्त गर्न सकेका थिएनन् ।

‘भिनिसियस निकै प्रतिभावान् खेलाडी हुन् । उनी म्याड्रिडमा आउँदा निकै युवा थिए । उनलाई माथिल्लोस्तरमा पुग्न निकै लामो समय लाग्यो । आजकल फुटबलमा माथिल्लोस्तरमा पुग्न प्रतिभा भएरमात्र पुग्दैन। तपाईंले ट्याक्टिकल ज्ञान र शारीरिक स्थिति पनि सुदृढ र बलियो बनाउनुपर्छ’, रियल म्याड्रिड युरोपियन च्याम्पियन बनेपछि क्लबका प्रशिक्षक कार्लोस एन्सेलोट्टीले भनेका छन् ।

उत्साही ब्राजिल, नजर विश्वकपमा

ब्राजिलले २० वर्षयता विश्वकप उपाधि जित्न सकेको छैन । सन् २००२ मा अन्तिमपटक ऊ विश्व च्याम्पियन बनेको थियो । त्यसयता विश्वकपको फाइनलमा पनि पुग्न सकेको छैन ।

त्यसयता सन् २००४, २००७ र २०१९ मा महादेशीय च्याम्पियनसिप कोपा अमेरिका भने जितेको थियो । गत वर्ष कोपा अमेरिकाकै फाइनलसम्म पुगेर अर्जेन्टिनासँग पराजित भएको थियो । अहिलेको ब्राजिल फुटबलको पुस्तामा पनि होनाहार खेलाडीहरु छन् ।

नेमार, कौटिन्हो, गाब्रियल जिसस, रोड्रिगो, रोबर्टो फिरमिनो, रिचार्लिसनजस्ता खेलाडीहरु टिममा रहे पनि यो पुस्ताबाट ब्राजिलले अपेक्षित फल पाउन सकिरहेको छैन । खासगरी रोड्रिगो, गाब्रियल जिसस, भिनिसियस जस्ता खेलाडीहरुको लय उच्च छ । नेमार चोटको ‘ह्याङ’बाट माथि उठ्न नसके पनि उनको क्षमतालाई वेवास्ता गर्न मिल्दैन । त्यसैले युवा खेलाडीहरुको लयले यतिबेला ब्राजिलको उत्साह बढेको छ ।

भिनिसियसले सन् २०१८ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हुन् । त्यसयता ब्राजिलका लागि १२ खेल खेलेका उनले एक गोलमात्र गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर