नवौं राष्ट्रिय खेलकुद सर्यो
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । जेठ २२ देखि २८ गतेसम्म पोखरामा गर्ने तयारी गरिएको प्रतियोगिता असोज अन्तिम साताका लागि सरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो ।
प्रतियोगिता अब असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।
यो पटक प्रतियोगितामा ३६ वटा खेल समावेश गरिने भनिएको थियो ।
बजेट कार्यन्वयनमा समस्या, समय अभाव, स्थानीय निर्वाचनका कारण साथै ११/१२ काे परीक्षासमेत परेकाले प्रतियोगिता सारिएको बताइएको छ ।
‘एसियन गेम्सलाई मुख्य टार्गेट गरेर छिटाे गर्ने निर्णय गरेकाे तर एसियन गेम्स पनि सर्यो । माैसमले पनि साथ नदिने भएकोले सार्नुपरेको हो’, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भने ।
प्रतियोगिताका लागि ६० करोड बजेट अनुमान गरिएको थियो ।