एनएचसीएल मार्फत थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध – Nepal Press

एनएचसीएल मार्फत थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

काठमाडौं । एनएचसीएल मार्फत थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध भएका छन् । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्दे सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आबद्ध गराइएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, र श्री इन्भेष्ट्मेन्ट एण्ड फाइनान्स सो प्रणालीमा जोडिएका हुन् । यस अघि २४ वटा वाणिज्य बैंक, ९ विकास बैंक र ८ वित्त कम्पनीमा उक्त प्रणाली सञ्चालनमा आइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंक/वित्तीय संस्था मध्ये ४६ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएस मार्फत सो प्रणालीमा जोडिएका हुन् ।

आरटीजीएस प्रणाली मार्फत् २ लाखभन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको चैत्र मसान्तको तथ्याङ्क अनुसार आरटीजीएस प्रणाली मार्फत ४३।४ खर्ब बराबरको ६५,३७६ भुक्तानी कारोबारहरु फर्छ्यौट भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *