छानबिन समितिको प्रतिवेदनः अल्मुताइरी अस्वस्थ र गैरव्यवसायिक, विकल्प खोज्नुपर्छ – Nepal Press

छानबिन समितिको प्रतिवेदनः अल्मुताइरी अस्वस्थ र गैरव्यवसायिक, विकल्प खोज्नुपर्छ

काठमाडौं । फुटबल खेलाडी-प्रशिक्षक विवाद छानबिन गर्न गठित समितिले अब्दुल्लाह अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औंल्याएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार बयानका क्रममा पनि अल्मुताइरीले आफू अस्वस्थ रहेको बताएका थिए । समितिले एएफसी कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएकाे छ ।

कतार फुटबल संघको प्राविधिक सहयोगमा नेपाल आएका अल्मुताइरी गैरव्यावसायिक भएको र खेलाडीको निजी जीवनमा समेत हस्तक्षेप गर्न खोजेको ‍औंल्याइएको छ। यस्तै एएफसी कप छनोटका लागि बन्द प्रशिक्षणबाट निस्किएका १० जना खेलाडीलाई माफी मगाएरमात्र राष्ट्रिय टोलीमा स्थान दिन पनि सुझाव दिइएको छ ।

केही साताअघि प्रशिक्षक अल्मुताइरीसँगको विवादपछि रोहित चन्दले बन्द शिविर छाडेका थिए । त्यसको दुई दिनपछि अन्य ९ जना खेलाडीले पनि बन्द शिविर छाडेका थिए ।

अल्मुताइरीले नै आफूहरुलाई बन्द शिविर छाड्न निर्देशन दिएपछि निस्किएको खेलाडीहरुको दावी छ । बन्द शिविर छाडेका खेलाडीहरुलाई बाहिर राखेर अहिले राष्ट्रिय टोलीको तयारी भइरहेको छ । एन्फाले छानबिन प्रतिवेदन शुक्रबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर