जसपाका नगरप्रमुखसहित तीन उम्मेदवार सर्वोच्चद्वारा फेरबदल – Nepal Press

जसपाका नगरप्रमुखसहित तीन उम्मेदवार सर्वोच्चद्वारा फेरबदल

सर्वोच्च अदालतको आदेश अनुसार नै निर्वाचन : निर्वाचन अधिकृत

काठमाडौं । नेपाल (जसपा) बाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका तीन जनाको उम्मेदवारी सर्वोच्च अदालतले रद्द गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले मङ्गलवार सिराहाको कल्याणपुर नगरपालिकामा जसपाबाट प्रमुख पदका उम्मेदवार रामबाबु यादव, सोही नगरपालिकाको वडा नम्बर ५ का अध्यक्ष उम्मेदवार दीपेन्द्र यादव र वडा नम्बर १२ का अध्यक्ष उम्मेदवार गौरीशंकर यादवको उम्मेदवारी रद्द भएको हो ।

कल्याणपुर नगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दिएका प्रदीप साह, वडा नम्बर ५ को वडा अध्यक्षका लागि उम्मेदवारी दिएका ओमप्रकाश यादव र वडा नम्बर १२ को वडा अध्यक्षका लागि उम्मेदवारी दिएका गयाराम यादवले आफू पार्टीको आधिकारिक उम्मेदवार भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उनीहरूको उम्मेदवारी सर्वोच्चले सदर गरेको छ । निवेदकका तर्फबाट संविधानविद् डा. भीमार्जुन आचार्यले बहस गरेका थिए । उक्त आदेश वैशाख २७ गते नै दिइएको भए पनि भर्खरै मात्र सार्वजनिक भएको हो ।

अदालतले उम्मेदवार कायम गर्नु भनेका तीनै जनालाई जनता समाजवादी पार्टी नेपाल (जसपा)ले नै उम्मेदवार मनोनयनको औपचारिक पत्र दिएको र त्यसै पत्रका आधारमा उम्मेदवारी दर्ताको निस्सासमेत प्रदान गरिएको अदालतले आदेशमा भनेको छ ।

तीनै जनाको नाम उम्मेदवारको नामावलीमा प्रकाशन भएको तर, अहिले पार्टीले आधिकारिक भनेका व्यक्तिको नाम हस्तलिपिमा थप गरी वैशाख १६ गते सूचना प्रकाशित भएको देखिएको भन्दै अदालतले यस्तो आदेश दिएको हो ।

निर्वाचन कार्यालयले तोकेको समयावधिभित्र उजुरी नगरी उम्मेदवारको नामावली प्रकाशन भइसकेपछि वैशाख १५ को पत्रअनुसार निवेदकको उम्मेदवार सम्बन्धमा सम्बन्धित दलको तर्फबाट आधिकारिकता भनी निर्वाचन अधिकृतसमक्ष पत्र पठाएको पाइएको आदेशमा भनिएको छ ।

यसरी निवेदकलाई वैशाख १६ गते प्रकाशित उम्मेदवार सूचीको नामबाट उम्मेदवार हुन वञ्चित गरेको देखिएको आदेशमा उल्लेख छ ।

आदेश अनुसार नै निर्वाचन : निर्वाचन अधिकृत

निर्वाचन आयोग उच्च स्रोतका अनुसार सर्वोच्च अदालतको उक्त आदेश अनुसार नै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेर कार्यान्वयनमा गइसकेको छ ।

कल्याणपुर नगरपालिकाका निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्याले आदेशअनुसार नै निर्वाचन भइरहेको नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘२७ गते सर्वोच्च अदालतले आदेश गर्‍यो । २९ गते बिहीबार साँझ निर्वाचन आयोगले निर्णय गरेर पठायो । त्यसै अनुसार हामीले २९ गते साँझ नै सूचना प्रवाह गरेर अदालतको आदेश अनुसार नै निर्वाचन गराइरहेका छौ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर