मतदान केन्द्रमा भेटिएका दुई ह्वीलचियरबाहक – Nepal Press

मतदान केन्द्रमा भेटिएका दुई ह्वीलचियरबाहक

इटहरी । ७२ वर्षका खोटाङको फेदिका सारजित राई २०६३ सालमा इटहरी आएपछि उनको कम्मरमुनि पक्षघात भयो । उनी ह्विलचियर प्रयोगकर्ता बने ।

पहिलो संविधानसभाको चुनावदेखि प्रत्येकपटक उनी ह्विलचियरकै सहारामा मतदान केन्द्र पुग्ने गरेका छन् । शुक्रवारको मतदानमा पनि उनी ह्विलचियर गुड्दै मतदान केन्द्र पुगे ।

इटहरी २ को देविथान क्षेत्रमा रहेको शान्ति आधारभूत विद्यालयमा गएर मतदान गरे राईले । सडकसम्म यात्रा सजिलो थियो, तर शान्ति आधारभूत विद्यालय पुगेपछि भने गाह्रो भयो । उनको ह्विलचियर गुडेर केन्द्रसम्म जसोतसो पुग्यो । तर, गेटैमा केही उँचो उभिएको ठाउँका कारण उनलाई अरूले सहारा दिनुपर्‍यो ।

मतदान गरेर एक्लै ह्विलचियरमा आउँदै गरेका राईले नेपाल प्रेससँग भने, ‘सहयोगी मान्छेहरू पाइयो । स्वयंसेवकले, म्यादी प्रहरीले सहयोग गरेर भोट खसालिदिए ।’

०००

२०४५ सालमा इटहरीको देउराली चौकको हुदुवा टोलमा जन्मेका मानबहादुर भुजेलले ह्विलचियरको सहारा लिनुपरेको २०६४ सालबाट हो । विराटनगरको सिबिआर भन्ने संस्थाले सहयोग गरेको ह्विलचियर गुडाउनु अगाडि भुजेल घिस्रिएर हिँड्ने गर्थे । चुनावी प्रक्रियामा उनले भाग लिन थालेको संविधानसभाको चुनावबाटै हो ।

आफूले कुनै चुनाव नछुटाएको बताउँदै भुजेलले ह्विलचियर यात्रामा पहिलेभन्दा अहिले सडक पूर्वाधारले केही सहज भएको सुनाए ।

‘संविधानसभाका चुनावहरूमा मलाई भाउजूले साइकलमा लगेर भोट हाल्न सहयोग गर्नु भएको थियो,’ उनले भने, ‘६ वर्ष अगाडि स्कुटर किनेपछि भने केही सहज भएको छ । स्कुटरमै ह्विलचियर राखेर मतदान केन्द्रमा जाने गरेको छु ।’

शुक्रवार इटहरीको शान्ति आधारभूत विद्यालयमा भोट गर्न गएका भुजेललाई अघिल्लो चुनावभन्दा केही सहज महसुस भयो । गेटबाट छिरेपछि चौरमा लाइन भएकोले छिर्न सजिलो भयो । मतदान गर्न अरू सहयोगीको आवश्यकता परेन ।

मतदानपछि आफ्नो घरमा नेपाल प्रेससँग बोल्दै भुजेलले भने, ‘सडकबाट सिधै विद्यालय छिर्न र्‍याम्प नभएकोले ह्विलिङ गर्न सहयोग आवश्यक पर्‍यो ।’

र्‍याम्प भनेको ह्विलचियर गुडाउन मिल्ने छड्के सतह हो भने ह्विलिङ भनेको ह्विलचियरको चक्का माथि उठाएर गुडाउने सतहमा राख्नु हो । स्कुटरबाट ह्विलचियर झार्न, जोड्न र ह्वीलिङ गर्न सहयोग लिएका थिए भुजेलले ।
सार्वजनिक शौचालयमा समस्या ज्यूँकात्यूँ भएको उनको गुनासो छ ।

‘मतदान गरुन्जेल त ठिकै भयो तर केही समय अलमल गरेर बसेको भए शौचालय जानुपर्दा गाह्रो हुन्थ्यो । पहुँचयोग्य शौचालय थिएन मतदान केन्द्रमा,’ भुजेलले भने, ‘र्‍याम्पदेखि शौचालयलाई पहुँचयोग्य बनाएको भए धेरै सजिलो हुन्थ्यो । आजको चुनावमा सहयोगी मान्छे पाइयो । सहज पूर्वाधार भने पाइएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर