आज स्थानीय चुनाव: ३५,२२१ पदका लागि मतदान हुँदै – Nepal Press

आज स्थानीय चुनाव: ३५,२२१ पदका लागि मतदान हुँदै

काठमाडौं । संघीयता लागू भएपछिको दोस्रो स्थानीय तह निर्वाचन आज बिहान ७ बजेबाट मुलुकभरमा ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका मतदान केन्द्रमा एकैपटक मतदान सुरु हुँदैछ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत र ७५२ निर्वाचन अधिकृतको कार्यालयले मतदान सुरु हुने जनाएका छन् ।

६ हजार ७४३ वटा वडामा १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । जहाँ एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्नेछन् । ३५ हजार २२१ जना उम्मेदवारमध्ये निर्विरोध निर्वाचितबाहेकका जनप्रतिनिधि छनोट गर्न मतदाताहरु उत्साहपूर्वक मतदान कार्यमा अघि बढेका छन् ।

मतदान केन्द्रमा एक लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक खटिएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् । राजनीतिक दल र स्वतन्त्र गरी ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी जम्मा एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

मतदान गर्न मतदाता नामावलीमा नाम हुनु अनिवार्य रहेको आयोगले जनाएको छ । नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि गृह मन्त्रालय तथा सम्बन्धित स्थानीय प्रशासनले शान्ति सुरक्षाको कडा व्यवस्था गरेको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले उल्लंघनका घट्नामा तत्काल कारवाही गर्न सक्ने अधिकारसमेत दिई १९ वटा उच्चस्तरीय टोली परिचालन गरिएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताएका छन् ।
उनका अनुसार तुलनात्मक रुपमा संवेदनशील ठानिएका विभिन्न स्थानमा उक्त टोली परिचालन हुनेछ ।

अनुगमन टोलीले निर्वाचनको गोपनीयतामा प्रतिकूल असर नपर्ने गरी निर्वाचनका कार्यसँग सम्बन्धित दृश्यको छायांकन गर्न आवश्यकअनुसार भिडियो क्यामेरा वा अन्य विद्युतीय उपकरण प्रयोग गरी दृश्य छायाँकन गर्नेछ । यस्तै मौन अवधिमा पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भए गरेको पाइएमा तत्काल आवश्यक कारबाही गरी आयोगलाई जानकारी गराउँदै आएको छ ।

निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि मौन अवधि जारी छ ।

मतदानको कार्य सम्पन्न नभएसम्म सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत र मतदान हुने दिन आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गरिएको छ । उम्मेदवार र अत्यावश्क सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराइएको छ । निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि शुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादकपदार्थको बिक्री वितरण र सेवन गर्न पूर्ण निषेध गरिएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघनको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाइएका छन् । आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ ।

यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र स्थानीय तहमा विशेष अनुगमनका लागि अधिकार प्रत्यायोजनसहित विशेष अनुगमन टोली खटाइएको छ । ती टोलीले आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा, चिन्ह र गाडी प्रयोग गरेमा, अनधिकृत रुपमा सामानको ओसारपसार वा नगद वा जिन्सी वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको आयोगले जनाएको छ ।

निर्वाचनमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ । जसअन्तर्गत नेपाली सेनासहित तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ । बालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न आज भइरहेको निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न निर्वाच्न आयोगले सम्पूर्ण मतदातालाई अपिल गरेको छ ।

यस पटक विभिन्न राजनीतिक दलका ३५५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर