आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गराउन गृह मन्त्रालयलाई निर्देशन – Nepal Press

आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गराउन गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले भोलि वैशाख ३० गते मतदानका दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउनका लागि आयोगले यस्तो निर्देशन दिएको हो ।

तर अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालनमा आउने आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव शालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शव वाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन सञ्चालनमा रहनेछन् ।

यस्तै अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमति पत्र लिनुपर्ने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *