उम्मेदवारकाे मृत्यु भएकाे लुम्बिनीका दुई स्थानकाे निर्वाचन जेठ ३ मा हुने – Nepal Press

उम्मेदवारकाे मृत्यु भएकाे लुम्बिनीका दुई स्थानकाे निर्वाचन जेठ ३ मा हुने

रुपन्देही । उम्मेदवारकाे मृत्युपछि रोकिएको कपिलवस्तुको महाराजगन्ज र दाङको तुलसीपुर वडा नं १७ मा जेठ ३ गते निर्वाचन हुने भएकाे छ । निर्वाचन आयोगले उम्मेदवारकाे मृत्युपछि रोकिएका निर्वाचन कार्यक्रम जेठ ३ का लागि तय गरेकाे हो ।

आयोगले जेठ ३ मा निर्वाचन गर्ने गरी नयाँ निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरिएको महाराजगञ्ज नगरपालिकाका निर्वाचन अधिकृत कुबेर पाण्डेले जानकारी दिए ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सुभावती कुर्मीको मृत्यु भएकाे थियाे । त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष उम्मेदवार एमालेका लबरू चौधरीको निधन भएकाे थियाे ।

उम्मेदवारकाे मृत्युपछि सम्बन्धित पार्टीले एकाघरका सदस्यलाई नै उम्मेदवार बनाएका छन् । मृतकका घरबाटै उम्मेदवारी दिँदा सहानुभूतिकाे मतसमेत तान्न सकिने ती दलहरुकाे उद्देश्य देखिन्छ । कपिलवस्तुमा कांग्रेसले मृतककी बुहारी र तुलसीपुरमा एमालेले मृतकका छोरालाई उम्मेदवार बनाएका हुन् ।

हृदयघातबाट सुभावतीको मृत्यु भएपछि मृतककी जेठी बुहारी रीताकुमारी कुर्मीकाे उम्मेदवारी दर्ता गरिएको कांग्रेस कपिलवस्तुले जनाएको छ ।

एमालेले भने जिल्ला सचिवालयको बैठक बसेर लबरूका छोरा प्रदीप चौधरीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । उनको बुधबार उम्मेदवारी दर्ता गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर