बुटवल पुगेर ओलीले भने- गठबन्धनवालालाई छोरी र श्रीमतीको चिन्ता छ, एमालेलाई देशको – Nepal Press

बुटवल पुगेर ओलीले भने- गठबन्धनवालालाई छोरी र श्रीमतीको चिन्ता छ, एमालेलाई देशको

'निर्वाचन स्वतन्त्र र धाँधलीरहित हुनुपर्छ, गृहमन्त्रीको जिल्ला भनेर धाक नलाऔं'

रुपन्देही । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ५ दलीय छोडेर सबै दल एकातिर भएपनि नेकपा एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

‘अहिलेको गठबन्धनले नेपाली जनतालाई झुक्याउन सक्दैन, १ शेर एकातिर १० वटा स्याल एकातिर हो एमाले । जस्तोसुकै गठबन्धनका लागि एमाले एक्लै काफी छ, यो जनताको पार्टी हो जनताले जिताउने हो कुनै गठबन्धनले होइन’, बुटवलमा आयोजित चुनावी सभामा ओलीले भने ।

जनताको काम गरेर मन जितेको एमालेलाई पदका लागि गरिएको गठबन्धनले केही क्षति नपुर्‍याउने ओलीको भनाइ थियो ।

‘पाँच दिनपछि चुनाव हुँदैछ, केही दिनमा नतिजा आउँदैछ, यो निर्वाचन कस्तो हो भनेर देखाउने जिम्मेवारी यहाँका जनताले देखाउनुछ । यसअघि पनि यो क्षेत्र एमालेको किल्ला हो यसका लागि तपाईंहरूलाई धन्यवाद छ । अब त्यो किल्ला जोगाउनका लागि प्रतिबद्ध भएर लाग्नुस् ।’

नेता ओलीले निर्वाचन स्वतन्त्र र धाँधलीरहित बनाउन सबै चनाखो हुनुपर्ने भन्दै कसैले गृहमन्त्रीको जिल्ला हो भनेर धाक नलाउन चेतावनी दिए । ‘सबै राष्ट्रसेवकले यसमा ध्यान दिनुपर्नेछ यो जिल्ला गृहमन्त्रीको मात्रै होइन तपाईं सबैको हो’, उनले भने ।

अध्यक्ष ओलीले नेकपा एमालेले लिएको नीति, विकास र राष्ट्रिय एकताको नेतृत्व नै आफूहरूको जित्ने आधार भएको जिकिर गरे ।

‘देउवा आफैंले प्रधानमन्त्री हुन मन थिएन भनेर धेरै ठाउँमा भन्नुभएकै छ, मन नभइ अदालत किन जानुभयो ? उहाँहरुको सत्ता स्वार्थ, नातागोता सेटिङ पहिलो हो तर एमालेलाई जनताको समृद्धि पहिलो हो’, ओलीले भने ।

ओलीले थपे, ‘चितवनको भरतपुरमा भोट माग्न गएका एक नेताले जनतालाई तर्साएछन्, जनता तर्साउने बानी अझै गएको रैनछ, मेरो छोरी नजिताए देश बिग्रने, छोरी जिताए २० वर्ष गठबन्धन टिकाउने घोषणा गरेछन्, गठबन्धन त्यो समयसम्म गए देशको अवस्था के होला ? हामीलाई देशको चिन्ता छ । नेपाली जनताले अब त्यो धम्की मान्नेवाला छैनन् ।’

जनतालाई खुलेआम धम्काउँदा निर्वाचन आयोग मुकदर्शक बनेको उनको टिप्पणी छ । ओलीले प्रश्न गरे, ‘गठबन्धनलाई जनताले चिन्दैनन्, त्यो लोभीपापीको बन्धन जहाँ गए जान्छ ? तपाईंले आफ्नो जिम्मेवारी पूरा गर्नुछ, एमालेलाई पूर्ण बहुमत दिलाउनुस् । आयोगले अरुको झण्डा बोक्न पाइदैन भनेको छ देउवा, आरजु, प्रचण्ड, माधव नेपालले कसको झण्डा बोकेका छन् ? कहिले आउने हो यसको जवाफ ?’

वृद्धवृद्धा, अपांग, अशक्तलाई भत्ता दिने, हुलाकी बाटो बनाउने, राजमार्ग विस्तार गर्ने, मदन भण्डारी राजमार्ग बनाउने, विमानस्थाल विस्तार गर्न एमाले चाहिने रहेछ भन्ने सबैलाई महसुस भएको ओलीको भनाइ थियो ।

उनले सुकुम्बासीको दीर्घकालीन समाधानका लागि विशेष योजना बनाएको बताए ।

‘यति लामो समय सरकारमा बसेको कांग्रेसले उदाहरण दिएर भन्नसक्ने कुनै काम गरेको छैन । ४२ वटा उद्योग बेचेर खायो बनाउने त कुरै छैन । हामीले सुकुम्बासीलाई पूर्जा दिन तयार हुँदा जबरजस्ता हटाइयो, गरिब र सुकुम्बासीको पार्टी होइन भनेर उनीहरु आफैंले भनेका छन्’, ओलीले भने ।

‘हाम्रो विकासको अभियानबाट छटपटाएर सरकार ढाल्ने खेलो सुरू भएको, एमाले सरकारबाट बाहिर आएपछि अर्थव्यवस्था कस्तो भयो भन्ने प्रष्ट भएको छ, अब एमालेको विजयमात्र होइन दिगविजय हुनुपर्दछ, अहिलेबाट नै हाम्रो विजययात्रा सुरु गरौं’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर