साबिक विजेता हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन
काठमाडौं । साबिक विजेता हेल्प नेपाललाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले छैटौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिगको च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पुरुष तर्फको अन्तिम खेलमा आर्मीले हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्यो ।
लगातार पहिलो र दोस्रो क्रमशः २५-१३, २५-१८ ले आफ्नो पक्षमा पारेको आर्मीले २६-२८ ले गुमाएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको चौथो सेट २८-२६ ले जितेको आर्मीले अपराजित रहँदै उपाधि उचाल्यो ।
च्याम्पियन आर्मीको ६ खेलबाट सर्वाधिक १८ अंक छ। यस्तै उपविजेता हेल्प नेपालको १४ तथा तेस्रो स्थानको नेपाल पुलिस क्लबको ११ अंक छ ।
यसअघि महिला तर्फ पुलिसलाई पराजित गर्दै आर्मी नै च्याम्पियन बनेको हो ।