नेपालको शानदार जित : जिम्बावे ‘ए’ ९ विकेटले पराजित – Nepal Press

नेपालको शानदार जित : जिम्बावे ‘ए’ ९ विकेटले पराजित

काठमाडौं । बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ‘ए’सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेर पहिला बलिङ गरेको नेपालले जिम्बावे ‘ए’ लाई ३१.५ ओभरमा अलआउट गराएको थियो ।

पहिला ब्याटिङ गरेको जिम्बावेले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो ।

जिम्बावे ‘ए’ ले दिएको लक्ष्य नेपाले ११.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान गरे । उनले ३८ बल खेल्दै ६ चौका प्रहार गरे ।

यस्तै, आसिफ शेखले ३४ बलमा ६ चौकासहित ३४ रनको अविजित इनिङ खेले । उनले पहिलो विकेटका लागि सुनिलसँग ७९ रनको साझेदारी गरेका थिए ।

विनोद भण्डारी ४ रनमा अविजित रहे ।जिम्बावे ‘ए’ का बलर ब्रान्डन माभुटाले एक विकेट लिए ।

यसअघि, पहिलो बलमै ओपनर इन्नोसेन्ट कियालाई गुमाएको जिम्बावेका लागि जोनाथान काम्पवेलले सर्वाधिक २७ रन, ब्राड इभान्स २० र चेफास जुवावो १० बाहेक कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

नेपालको बलिङमा करण केसी र सोमपाल कामीले सर्वाधिक तीन तीन विकेट लिए । भने, सागर ढकाल १ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’ सँग तीन विकेटले पराजित भएको थियो । तीन खेलको एक दिवसीय श्रृङखलको अन्तिम खेलमा नेपालले सोमबार जिम्बावेको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर