इटहरीमा राप्रपाको निर्णायक शक्ति, चुनावी तालमेलका लागि कांग्रेस र एमालेको जोडबल जारी – Nepal Press

इटहरीमा राप्रपाको निर्णायक शक्ति, चुनावी तालमेलका लागि कांग्रेस र एमालेको जोडबल जारी

इटहरी । २०७४ सालको चुनावी गणितलाई आधार मान्दा इटहरीमा राप्रपा तेश्रो शक्ति हो । २०७४ को चुनावमा एमालेले मेयर जित्यो भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र तेश्रो शक्ति राप्रपा भएको थियो ।

५२ हजार ५२२ खसेको सदर मतमा २२ हजार ६८९ मत ल्याएर एमालेका उमेम्दवार द्वारिकलाल चौधरी विजयी भएका थिए । नेपाली कांग्रेसका प्रत्याशी रोहित प्रसाईको १९ हजार ९८५ मत आएको थियो भने राप्रपाका रोहितकुमार कार्कीले ३ हजार ७१५ मत ल्याएका थिए । यस्तै चौंथो स्थानमा माओवादीकी उम्मेदवार हरिमाया जिमीले ३ हजार ३६४ मत ल्याएकी थिइन् ।

पछाडि फर्केर हेर्दा २०४६ सालको जनआन्दोलनपछि भएको २०५४ सालको प्रथम स्थानीय चुनावमा राप्रपाको झनै बलियो प्रभाव थियो । त्यसबेला इटहरीमा दोश्रो शक्तिका रुपमा रहेको थियो राप्रपा । मेयर पदमा एमालेका सर्वध्वज साँवाले ६ हजार ८९९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका रामकुमार सुब्बाले ४ हजार ५०४ मत ल्याएका थिए । नेपाली कांग्रेसका वीरेन्द्र कार्कीले तेश्रो भएर २ हजार ७५७ मत ल्याएका थिए ।

२०७४ मै तेश्रो शक्तिको हैसियत पाएको राप्रपाको क्रेज अहिले इटहरीमा बढ्दो क्रममा छ । बढ्दो चुनावी चलहपहल र राप्रपाको घरदैलो कार्यक्रममा पार्टीको पक्षमा माहोल देख्न सकिन्छ । नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपा गठबन्धनबाट चुनावी मैदानमा एमालेसँग भिड्दा राप्रपा इटहरीमा एक्लै लडिरहेको छ ।

इटहरीमा राप्रपाका मेयर उम्मेदवार आकाशहाङ सुब्बा छन् भने उपमेयर उम्मेदवार छिन् बबिताकुमारी चौधरी । इटहरी क्षेत्रका एक मात्र पूर्वमन्त्री रामकुमार सुब्बाका छोरा हुन् आकाश । उनी राप्रपा इटहरीका अध्यक्षसमेत हुन् । बबिताले इटहरीको भुमिपुत्र थारुको प्रतिनिधित्व गर्छिन् । गठबन्धनले महिला, आदिवासी जनजाती र थारुको प्रतिनिधित्व मुल पदहरुमा गरेको छैन । एमाले र राप्रपाले भने मेयर र उपमेयरमा उस्तै खाले अनुहार उभ्याएका छन् । एमालेले मेयरमा एमालेका नगर अध्यक्ष याम सुब्बालाई र उपमेयरमा संगीता चौधरीलाई अघि सारेको छ ।

चुनावमा राप्रपाले प्रचार गरेको नारा राजेन्द्र लिङ्देनले हिट बनाएकै वाक्य छ, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो ।’

इटहरीमा राप्रपा प्रवेशको लहर

इटहरी वडा नम्बर २० का नेपाली कांग्रेसका वडा उपसभापति दिपबहादुर पुरीले नेपाली कांग्रेस त्याग गरे । उनी अहिले राप्रपामा वडा अध्यक्षको उम्मेदवार छन् । २०७४ सालको चुनावमा अन्तिम समयमा आएर १८ वडामा मात्रै अध्यक्ष उठाएको राप्रपाको अहिले इटहरीका २० वडामै अध्यक्षका उमेद्वारी दिएको छ ।

इटहरी वडा नम्बर ६ मा राप्रपाको बलियो उपस्थिति भएको नेपाली कांग्रेस र एमालेका नेताहरु नै स्विकार्छन् । नेपाली कांग्रेसका दर्जनौं स्थानीय कार्यकर्ताहरु वडा नम्बर २० र ३ बाट राप्रापा प्रवेश गरेका छन् । वडा नम्बर ४ मा पनि राप्रपा प्रवेशको एक खाले प्रभाव परेको छ ।

एमालेबाट राप्रपामा जानेको पनि उस्तै लहर देखिएको छ । इटहरी वडा नम्बर १० मा स्थानीय स्तरमा चिनिएका एमालेका उमेश खत्री राप्रपा प्रवेश गरेका छन् । खत्रीसँगै थप एमालेका कार्यकर्ताहरु अहिले वडा नम्बर १० मा राप्रपा कित्तामा पुगेका छन् ।

राप्रपा इटहरीका प्रभावशाली नेता तथा पूर्व केन्द्रीय सदस्य रामु पोखरेलका अनुसार राप्रपामा चुनावी दौरान ११ सय ५० कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् ।

‘राप्रपामा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट आउनेहरु सराबर जस्तै छन्’, पोखरेलले भने, ‘अरु साना पार्टीहरुबाट पनि आएका छन् ।’

इटहरीमा पुरानो विरासत र राजेन्द्र लिङ्देनको नयाँ क्रेजले इटहरीमा राप्रपा थप देखिने दलको रुपमा चिनिएको छ । राप्रपाले मेयर वा उमेयर जित्ने आँकलन छैन, तर, राप्रपासँग तालमेल मिलाएको खण्डमा मेयर र उमेयरसहित सेटै जित्ने सम्भावनाको चर्चा भइरहेको छ । राप्रपा श्रोतका अनुसार अहिले एमाले र कांग्रेस दुवै दलहरुबाट पार्टीको समर्थन लिन र चुनावी तालमेल गर्न प्रस्ताव आएको छ । पूर्वमन्त्री रामकुमार सुब्बालाई घरमै पुगेर एमाले र कांग्रेसका नेताहरुले भेटेका छन् । वडा नम्बर ६ को अध्यक्षमा राप्रपाका अनिल सुब्बालाई समर्थन गर्ने शर्तमा मेयर र उपमेयरमा राप्रपाको समर्थन कांग्रेस एमालेले खोजिरहेका छन् ।

इटहरीमा राप्रपाको विरासत

हालको इटहरीका वडा नम्बर २ र ३ क्षेत्र बुढी खोलापारीका मोरङको सुन्दरहरैंचा नगरपालिकाका उत्तरी क्षेत्रलाई महेश्वर झोडा भनेर चिनिन्थ्यो । महेश्वर सुब्बाले साथीहरु रामबहादुर श्रेष्ठ, बमबहादुर लिम्बु, सोनालाल चौधरी र प्रेमलाल पटवारीहरुसँग मिलेर जंगल फँडानी गरेका थिए ।

भरत शमशेर नेतृत्वको गोरखा परिषदको नेता भएको तथा वन फँडानी गरेको आरोपमा सुब्बा २२ पटक पक्राउ परेको ‘इतिहासमा इटहरी’ पुस्तकमा उल्लेख छ । इटहरीको बजार क्षेत्रमा भएको पुरानो काठको विशाल घर पनि उनकै थियो । त्यो घर महेन्द्र राजमार्ग बनाउने क्रममा भत्कियो ।

तीनै इटहरी क्षेत्रमा बस्ति बनाउने महेश्वर सुब्बाका छोरा हुन् रामकुमार सुब्बा । उनी इटहरीमा २०३५ सालबाट २०४६ सालसम्म तीनपटक प्रधानपञ्च भए । पञ्चायतकालमा उनी प्रदेश १ का गिनेचुनेका पञ्चनेता थिए । यसैको जगमा इटहरीमा राप्रपाको उपस्थिति बलियो भयो । र, अहिलेसम्म राप्रपा सुनसरीका अन्य क्षेत्रमा कमजोर भएपनि इटहरीमा राम्रो उपस्थिति भएको पार्टीको रुपमा उभिएको छ ।

इटहरीमा राप्रपाको आफैं चुनाव जित्ने माहोल नभए पनि अरु पार्टीलाई जिताउने वा हराउने निर्णायक मत राप्रपासँग छ । त्यही मत आफ्नो पक्षमा पार्न अहिले इटहरीका एमाले र कांग्रेस नेतृत्वले जोडबल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर