‘बागी’ उम्मेदवारी निष्क्रिय गराउन पहल गर्ने सत्तारूढ गठबन्धनको निर्णय – Nepal Press

‘बागी’ उम्मेदवारी निष्क्रिय गराउन पहल गर्ने सत्तारूढ गठबन्धनको निर्णय

काठमाडौं । सत्तारूढ गठबन्धन दलको सहमतिभन्दा बाहिर गएर ‘बागी’ उम्मेदवारी दिएकाहरूको उम्मेदवारी निष्क्रिय गराउन अझै पहल जारी राख्ने निर्णय भएको छ ।

सत्तारूढ पाँच दलका स्थानीय तह निर्वाचन समितिकाे सचिवालयका पदाधिकारी तथा सदस्यहरूको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाली कांग्रेस केन्द्रीय परिचालन समिति सचिवालयका संयोजक एवं केन्द्रीय सदस्य नानु बास्तोलाको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले ‘गठबन्धनमा रहेका दलहरुबीच आपसी समझदारीमा दिइएका उम्मेदवारविरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्क्रिय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्वसमक्ष आग्रह गर्ने’ निर्णय गरेको छ ।

यस्ता उम्मेदवारकाबारे हरेक दलले एक-अर्कालाई जानकारी गराउने पनि निर्णय गरिएको छ । यस्तै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहार्द तवरले सम्पन्न गराउन गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिबद्ध रहने पनि निर्णय भएको छ ।

निर्वाचनका क्रममा गठबन्धनका दलहरूबीचमा असमझदारी सिर्जना भएमा आपसी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सचिवालयमार्फत क्रियाशीलता कायम राख्ने पनि निर्णय भएको छ । स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरुमा गठबन्धन दलबाहेक अन्य राजनैतिक दलहरुसँग असहमति वा असमझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलहरुबीच मतैक्य गरी समस्या समाधान गर्न क्रियाशील रहने पनि जनाइएको छ ।

बैठकमा माओवादी केन्द्रका तर्फबाट डोरप्रसाद उपाध्याय, नेकपा एसका तर्फबाट लक्ष्मण केसी, जसपाका तर्फबाट लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चाका तर्फबाट हिमलाल पुरी उपस्थित थिए । ती निर्णयहरू पाँचै दलका प्रतिनिधिहरूको संयुक्त हस्ताक्षरमा सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर