ढोरपाटनका मेयर उम्मेदवार अर्यालको प्रतिबद्धता– आफूले जिते किसानलाई दूध र मासुमा अनुदान – Nepal Press

ढोरपाटनका मेयर उम्मेदवार अर्यालको प्रतिबद्धता– आफूले जिते किसानलाई दूध र मासुमा अनुदान

बागलुङ । ढोरपाटन नगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार चन्द्र अर्यालले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् ।

यहाँ सत्ता गठबन्धनको लागि नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य अर्याल मेयर उम्मेदवार रहेका छन् । उनले आफू मेयर निर्वाचित भए स्थानीय उत्पादनमा अनुदान दिने घोषणा गरेका हुन् ।

‘प्रवृत्ति र पात्र फेर्ने सुनौलो अवसर, सक्षम पारदर्शी र भ्रष्टाचारमुक्त नगर सरकार’ भन्ने मूल नारा लिएर अर्याल चुनावी प्रचारप्रसारमा होमिएका छन् ।

ढोरपाटन नगरपालिका–२ मा २०३० सालमा जन्मेका अर्यालले व्यवस्थापनमा स्नातक गरेका छन् । उनले २०५६ सालसम्म माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए । २०५७ सालमा व्यवसाय र पेशा छोडेर अर्याल नेकपा (माओवादी केन्द्र) को राजनीतिमा सक्रिय भएका थिए । सशस्त्र जनयुद्धमा होमिएका उनी युद्धपछि बुटवलमा बसाइ सरे । उनले पार्टीको सम्पर्कमै रहेर बुटवललाई कार्य क्षेत्र बनाए । शान्ति सम्झौतापछि उनी ढोरपाटनमै फर्किएका थिए ।

लामो समयदेखि पार्टीको मूल प्रवाहमा रहेकाले पार्टीले यसपटक आफूलाई मेयर उम्मेदवार बनाएको अर्यालको दाबी छ । पार्टीको विश्वासलाई सही सावित गर्दै उनले नगरवासीको जीवनस्तर उकास्न काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘२०५७ देखि पार्टीको मूल प्रवाहमा रहेर काम गरिरहेको छु,’ उनले भने, ‘पार्टीले गरेको विश्वासलाई यथार्थमा बदल्न विशेष योजनाका साथ मेयर लडेको छु ।’

माओवादी केन्द्र ढोरपाटन नगर कमिटीले मेयरको लागि अर्यालको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो । नगरमा सर्वसम्मत भएपछि प्रदेश कमिटी सदस्यसमेत रहेका उनको एकल नाम सिफारिस गरिएको थियो । दुई दर्जनभन्दा बढी सामाजिक संस्थामा विगत १५ वर्षदेखि काम गर्दै आएकाले ढोरपाटनवासीले आफूलाई नै चयन गर्ने अर्यालले विश्वास व्यक्त गरे ।

उनले अन्य प्रतिस्पर्धीको तुलनामा आफ्नो भिजन उत्कृष्ट भएको बताउँदै भावी योजना र खाकाले ढोरपाटन नगरको मुहार फेरिने दाबी गरेका छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटन नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना छ । देशकै एकमात्र सिकार आरक्ष भएकाले पनि यहाँ स्थानीय र बाह्य पर्यटकहरू सिकार गर्न आउने गर्छन् । पर्यटनबाट नगरले ठूलो प्रगति गर्न सक्ने सम्भावना भएकाले ढोरपाटनलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन आफूले काम गर्ने अर्याल बताउँछन् ।

मेयर उम्मेदवार अर्यालले नगरभित्र रहेका उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीयका लागि दातृ निकायसँगको समन्वयमा सोलार हिटर प्लान्ट स्थापना गर्ने आफ्नो योजना रहेको सुनाए । ‘धार्मिक पर्यटन, सिकार आरक्ष र ढोरपाटन उपत्यकाको विकासका लागि म गुरुयोजनाको साथ आएको छु’, उनले भने, ‘उक्त गुरुयोजनाअनुसार नगरभित्र जडिबुटी, आलु र दुग्ध प्रशोधन उद्योग सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छु ।

त्यस्तै ढोरपाटन वनभित्रको काठ व्यवस्थापन गर्न चारवटा काष्ठ उद्योग स्थापना गर्न सकिन्छ । त्यसमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दुई हजार जनाले रोजगारी पाउनेछन् ।’

आफू मेयर निर्वाचित भए नगरका ९ वटै वडाका १० देखि १२ जना गरी १०० जनालाई रोजगारी उपलब्ध गराउने उनको योजना छ । अघिल्लो सरकारले गर्न नसकेको नगरपालिकाको प्रशासकीय भवन पनि आफूले निर्माण गर्ने उनले बताए ।

१० जनालाई इञ्जिनियरिङ्ग र ५ जनालाई एमीबीबीएस अध्यापन

मेयर उम्मेदवार अर्यालले आफ्नो घोषणापत्रमा स्नातक तहसम्मको अध्ययन निःशुल्क गर्ने घोषणासमेत गरेका छन् । नगरभित्रै रहेको निसीभुजी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्नेलाई निःशुल्क पठनपाठन गराउने योजना आफूले बनाएको उनले बताए ।

‘विद्यालय तहमा निःशुल्क अध्ययन भनिए पनि त्यो पूर्ण रुपमा पालना नभएकाले हामी त्यसलाई पूर्ण कार्यान्वयन गर्छाैं’, उनले भने, ‘परीक्षा शुल्क, अतिरिक्त शुल्कको नाममा लिइने शुल्क पूर्णतः हटाउँछाैं । प्राविधिक शिक्षालाई जोड दिन्छाैं । विद्यालयमा आवश्यक दरबन्दी थप गर्नुका साथै सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारलाई प्राथमिकता दिन्छाैं ।’

उनले हरेक वर्ष गरिब, विपन्न, जेहेनदार, दलित र असहाय १० विद्यार्थीलाई इञ्जिनियर र ५ विद्यार्थीलाई एमबीबीएस पढाइनेसमेत घोषणा गरेका छन् ।

नगरमै सुविधा सम्पन्न अस्पताल

अर्यालले हरेक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य इकाई स्थापना गर्ने योजनासमेत सार्वजनिक गरेका छन् । भएका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने, नगरपालिकाका स्थानीयलाई थप उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्य गर्न नगरमै उच्चस्तरको अस्पताल स्थापना गर्ने आफ्नो योजना रहेको उनले जानकारी दिए ।

किसानलाई दूधमा प्रतिलिटर २० र मासुमा प्रतिकेजी १० रुपैयाँ अनुदान

मेयर उम्मेदवार अर्यालले कृषि क्षेत्रमा आफूले नयाँ क्रान्ति गर्ने गरी योजना बनाएको दाबी गरेका छन् । किसानलाई यान्त्रीकरण गर्दै व्यावसायिक कृषिका लागि आधुनिक र उच्चस्तरको प्रविधि भित्र्याएर उत्पादन र लागत बढाउने उनको प्रतिबद्धता छ ।

नगरभित्रका कुनै किसानले दूध उत्पादन गरेर बेचेमा उनलाई प्रतिलिटर २० रुपैयाँ अनुदान दिने उनले जानकारी दिए । त्यस्तै नगरभित्रै उत्पादन गरे मासु बेच्नेलाई नगरपालिकाको तर्फबाट प्रतिकेजी १० रुपैयाँ अनुदान दिने उनको भनाइ छ । ‘कृषिलाई जीविकोपार्जनबाट व्यावसायिकतर्फ रुपान्तरण गर्न नसकेसम्म नगरवासीको जीवनस्तर माथि उठाउन सकिँदैन’, अर्यालले भने ।

२०७४ को निर्वाचन र वर्तमान अवस्था

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका देवकुमार नेपाली नगर प्रमुखमा विजयी भएका थिए । नेपालीले कुल मतदाताको २२.४५ प्रतिशत मत प्राप्त गरेका थिए । कूल ११ हजार ९९० मतदाता रहेकोमा नेपालीले २ हजार ६९२ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुन शेरचनले १ हजार ९४६ मत पाएका थिए ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाले १ हजार ९०० मत ल्याउँदा नेकपा (माओवादी केन्द्र) ले १ हजार ४०० मत ल्याएको थियो । गत स्थानीय तह निर्वाचनको तुलनामा यस वर्ष ५ हजार ६४० नयाँ मतदाता थपिएका छन् ।

नगरको प्रमुखमा सत्ता गठबन्धनबाट अर्याल र एमालेबाट निवर्तमान मेयर नेपाली चुनावी मैदानमा छन् । अर्याललाई सत्ता गठबन्धनको साथ रहँदा नेपालीलाई राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले समर्थन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर