विवादपछि फुटबलको क्लोज क्याम्पमा अब ३२ खेलाडी, सी डिभिजन क्लबका पनि समावेश – Nepal Press

विवादपछि फुटबलको क्लोज क्याम्पमा अब ३२ खेलाडी, सी डिभिजन क्लबका पनि समावेश

काठमाडौं । अब्दुल्लाह अल्मुताइरीले एसिया कप छनोटको बन्द प्रशिक्षणमा शुक्रबार १७ जना खेलाडीलाई बोलाएसँगै बन्द प्रशिक्षणमा रहने खेलाडीको संख्या ३२ पुगेको छ ।

बन्द शिविरमा रहेका १० जना खेलाडी बाहिरिएपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १७ जना खेलाडीलाई थपेका छन् ।

यसअघि २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकामा १० जना खेलाडी अल्मुताइरीसँगको विवादपछि टिमबाट बाहिरिएका छ्न् । तीबाहेक कप्तान किरण चेम्जोङ विदेशमा छन् भने देवेन्द्र तामाङ आफन्त विरामी भएका कारण बन्द शिविर सहभागी हुन सकेका छैनन् ।

कप्तान किरन चेम्जोङले पनि बाहिरिएका खेलाडीको पक्षमा बोलेपछि उनी पनि टोलिमा नपर्ने संकेत देखिएको छ । अब्दुल्लाहले अनुभवी गोलकिपर विकेश कुथुसहितलाई बन्द शिविरमा बोलाएका छन् । यद्यपी चेम्जोङ र तामाङको विषयमा केही बाहिर आएको छैन ।

नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले भने, देवेन्द्र र किरण नहुँदा २३ जना बन्द शिविरमा थिए । १० जनाले छाडेपछि १३ जना मात्र बन्द शिविरमा रहेकामा १७ जना थपिएपछि किरण र देवेन्द्रबाहेक ३० जना पुगेको छ ।

उनले बन्द प्रशिक्षणका लागि थपिएकामध्ये विकेश र आशिष चौधरी सहभागी हुन बाँकी रहेको बताए। यसअघि विकेशले आन्दोलित खेलाडीलाई साथ दिएको देखिएको थियो ।

‘हाम्रो बोलाउने काम हो’, उपाध्यायले भने । थप गरिएका खेलाडीमा करिब आधा जति विभागीय टिमका हुन् भने सि डिभिजन क्लबबाट खेलिरहेका खेलाडीलाई पनि बोलाइएको छ ।

आर्मीका जर्ज प्रिन्स कार्की, विकेश कुथु, सेसेहाङ राई र विकाश तामाङ तथा नेपाल पुलिस क्लबका निरकुमार राई र एपीएफका राजन गुरुङ बोलाइएका छन् ।

बी डिभिजनमा झरेको बिग्रेड ब्वाइजका रोशन राना मगर तथा बी डिभिजन क्लबहरु भगवतीका सुनिल श्रेष्ठ र चर्च ब्वाइजका आशिष चौधरीलाई पनि बन्द शिविरमा बोलाइएको छ ।

सातदोबाटो युथका सुशिल राई र आकाश बुढामगर, जावलाखेल युथ क्लबका रुपबहादुर लामा र अभिषेश बराल, मनाङ मर्स्याङ्दीका विशाल सुनार, थ्रिस्टारका सन्जोग राई र एनआरटीका शिव गुरुङलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

सी डिभिजन क्लब पुल्चोक स्पोर्टसका मनिष जर्गा मगरलाई पनि टिममा समावेश गरिएको हो।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर