१० फुटबलरले पुरा मुख खोल्न सकेनन् तर अल्मुताइरीले मानसिक यातना दिएकोसम्म आरोप – Nepal Press

१० फुटबलरले पुरा मुख खोल्न सकेनन् तर अल्मुताइरीले मानसिक यातना दिएकोसम्म आरोप

कठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण छाडेर बाहिरिएका १० खेलाडीले बिहीबार पत्रकार सम्मेलन गरेर आफुलाई भगौडा र विद्रोही भनेकामा दुखेसो पोखे।

‘हामी यहाँ कुनै माग लिएर आएका हैनौँ तर हामी टिमबाट बाहिरिएको विषयमा भगौडा र विद्रोहीजस्ता अभिव्यक्ती आइरहेकाले त्यसबाट मन दुखेर मात्र यहाँ उपस्थित भएका हौँ’, बन्द शिविरबाट बाहिरिएकामध्ये गोलकिपर विशाल श्रेष्ठले भने।

उनिसहित अन्य खेलाडीहरुले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नै निस्किएर जानु भनेकाले होटलबाट बाहिरिएको बारम्बार दोहोर्‍याए। सेवा सुविधाका विषयमा आफुले प्रशिक्षकसँग कुरा राख्दा अल्मुताइरीले घर जान भनेको रोहितको दावी छ।

‘हाम्रो विषयमा माग उठाएका कारण रोहितलाई घर पठाएपछि हामीले प्रशिक्षकसँग कुरा गर्न खोजेका थियौँ। तर उनले तिमीहरुले युद्ध सुरु गर्‍यौ मैले अन्त्य गरेँ भन्दै हामीलाई पनि घर जान भने। रोहितलाई टिममा राखिरहनु पर्छ भन्ने होइन तर जसरी निकालियो त्यसप्रति हाम्रो असन्तुष्टी थियो’, टिमबाट बाहिरिएका अर्का खेलाडी विशाल राई भन्छन्।

रोहितले गत आइतबार खेलाडीहरुलाई होटलमा राख्नु पर्ने प्रशिक्षकसँग कुरा गरेका थिए। त्यसपछि होटलमा बस्न चाहने र होटलमा बस्न चाहनेलाई हात उठाउन भनिएको खेलाडीहरुको भनाई छ। होटल बस्न चाहनेमा रोहितले मात्र उठाएपछि उनलाई टिममा एउटा मात्र लिडर हुन्छ’ भन्दै टिमबाट घर जान भनेको दावी गरिएको छ।

खेलाडीहरुका अनुसार रोहितसँगको विवादलगत्तै टिम म्यानेजर मधुसुदन उपाध्यायले खेलाडीका लागि होटलमा राख्ने व्यवस्था भइसकेको बताएका थिए। त्यसपछि प्रशिक्षक अल्मुताइरीले आफुले जोक गरेको र अब खेलाडी होटलमा बस्ने सुनाएका थिए।
तर रोहित बाहरिएको विषय जोक नदेखिएपछि खेलाडीहरुले प्रशिक्षकसँग गम्भिर छलफल गर्न अग्रसर भएका थिए। मंगलबार साँझ प्रशिक्षक अल्मुताइरीले रोहितको टिमबाट खेल्ने की अल्मुताइरीको टिमबाट खेल्ने भन्दै खेलाडीहरुलाई व्यक्तिगतरुपमा बोलाएर कुरा गरेका थिए। प्रशिक्षकसँग असन्तुष्टी राखेका ९ जना खेलाडीलाई उनले आफ्नो कार्यकालभर नेपाली टिमबाट खेल्न नदिने धम्की दिएर घर जान भनेको विशाल राई बताउँछन्।

होटल व्यवस्था भइसकेको थियो, आफैले खेलाडीलाई जोक गरेको भन्दै थिए भने अल्मुताइरीले यो विवादलाई यहाँसम्म किन ल्याईपुर्‍याए भन्ने विषयमा प्रश्न गर्दा खेलाडीहरुले त्यसबारे आफुहरुलाई केही थाहा नभएको प्रतिक्रिया दिए। ‘टिममा एउटा मात्र लिडर हुन्छ’, ‘तिमीहरुले युद्ध सुरु गर्यौ मैले अन्त्य गरेँ’जस्ता अब्दुल्लाहका अभिव्यक्तीहरु अनुत्तरित रहे।

अल्मुताइरीसँग केही पुरानो रिसइबी थियो की भन्ने विषयमा रोहितले त्यस्तो केहि नरहेको तर सिनियर खेलाडी भएकाले खेलाडीका मागका विषयमा कुराहरु राख्दै आएको बताए। प्रशिक्षक अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई टिममा बोलाइसकेका छन्। उनी जसरी पनि खेलाडीहरुलाई पेलेरै जाने अवस्थामा देखिन्छन्।

खेलाडीहरुले बुधबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग भेटेका थिए। भेटमा सहभागी विशाल राईका अनुसार अध्यक्ष शेर्पाले एन्फाको चुनावसम्म अल्मुताइरीका विषयमा आफुले केही गर्न नसक्ने प्रतिक्रिया दिएको बताउँछन्। यता खेलाडीहरु अब के गर्नु हुन्छ भन्ने प्रश्नमा स्पष्ट देखिँदैनन्।

‘एन्फाले सत्यतथ्य छानबिन गरोस्। दोषीलाई कारबाही होस्’, टिमबाट बाहिरिएका अर्का खेलाडी अनन्त तामाङ भन्छन्, ‘तर यही अवस्थामा अल्मुताइरीको अन्डरमा खेल्न अब चाहीँ गाह्रो हुन्छ, यति भइसकेपछि।’ अनन्तसहित अन्य कसैले पनि अल्मुताइरीको अन्डरमा अब खेल्दैनौँ भने भनेनन्। ‘प्रशिक्षकका रुपमा हाम्रो कुनै समस्या होइन। समस्या व्यक्तिगत विषयको हो’, रोहित भन्छन्।

व्यक्तिगत जिवनमा हस्तक्षेप गरेको दावी

प्रशिक्षक अल्मुताइरीसँग खेलाडीको तनाव असामान्यरुपमा रहेको उनिहरुले भनेका कुराहरुबाट देखिन्छ।

‘सामान्य कुरामा पनि टिमबाट घर पठाउने धम्की दिन्थे। सामाजिक सन्जालमा आफ्ना हरेक पोष्टहरु सेयर गर्न उनको निर्देशन हुन्थ्यो’, अनन्त भन्छन्, ‘हामीले सामाजिक सन्जालमा लेख्दा, बोल्दा पनि आफ्नो अनुमती लिनुपर्छ भन्थे उनि। कपाल, ट्याटुलगायत विषयमा पनि चासो राख्थे।’

विशाल राईले टिमबाट बाहिर रहेको अवस्थामा सामाजिक सन्जालमा पोस्ट गरेका तस्बिरहरुका विषयमा पनि अल्मुताइरीले चासो राख्ने गरेको गुनासो गरे।

‘हामीले आन्तरिकरुपमै सबै समस्या समाधान होस् भन्ने चाहन्थ्यौँ। किन भने हामी फुटबल खेल्नमै रमाउँछौँ’, अर्का खेलाडी विशाल श्रेष्ठले भने। यो विवाद अब के हुन्छ भन्ने निश्चित छैन। टिमभन्दा बाहिरै रहनु परे के गर्नु हुन्छ भन्ने प्रश्नमा खेलाडीहरुले मलिन अनुहार लगाए। ‘हामीहरुले कहिल्यै खेल्दैनौँ भनेका छैनौँ। खेल्नु हाम्रो काम हो। नेपालका लागि खेल्न पाउँदा सँधै गर्व लाग्छ’, बन्द शिविरबाट बाहिरिएका अर्का खेलाडी अन्जन विष्ट भन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर