एसियन गेम्सका लागि खेलाडीले आफ्नै खर्चमा छनोट खेल्नुपर्ने ! – Nepal Press

एसियन गेम्सका लागि खेलाडीले आफ्नै खर्चमा छनोट खेल्नुपर्ने !

काठमाडौं । आगामी सेप्टेम्बरमा चीनको हानजाउमा आयोजना हुने एसियाली खेलकुदको छनोटमा खेलाडीले आफ्नै खर्चमा छनोट खेल्नुपर्ने भएको छ। विभिन्न खेल संघहरुले छनोट प्रतियोगिताको मिति सार्वजनिक गर्दै खेलाडीले आफ्नै खर्चमा सहभागिता जनाउनुपर्ने भनिएको छ।

नेपाल एथलेटिक्स संघले आइतबार सूचना निकाल्दै खेलाडीले यातायात तथा बसोबासको खर्च आफैले ब्यहोर्नुपर्ने भन्दै छनोट प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।

यसको मतलब सागमा स्वर्णसहितका पदक जितेका खेलाडीले पनि आफ्नै खर्चमा छनोट खेल्नुपर्ने छ । नेपालका लागि एसियाली खेलकुदमा प्रतिनिधित्व गर्न संघका सचिव आरके विष्टले राखेपबाट प्रतियोगिता खर्च नपाएकाले खेलाडीले आफ्नै खर्चमा खेल्नुपर्ने अवस्था आएको बताए।

‘तर हाम्रा अधिकांश खेलाडी काठमाडौंमै छन्। त्यसैले समस्या हुँदैन उनले भने। दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद र ओलम्पिक खेलकुद नेपालले सरकारी खर्चमै सहभागिता जनाउने अन्तर्राष्ट्रिय खेल महोत्सवहरु हुन्।

यी प्रतियोगिता खेल्ने खेलाडीहरुको धोको हुन्छ। राष्ट्रियस्तरमा छनोट प्रतियोगिता आयोजना गरि राष्ट्रिय टिम छनोट गरिने भएकाले वडास्तरमा हुर्किरहेका खेलाडीहरुले पनि प्रतिस्पर्धा गर्ने अवसर पाउने गर्छन्।

एथलेटिक्स संघका अनुसार १३ औँ सागमा पदक जित्नेहरु, उक्त प्रतियोगिताको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु, १३ औँ सागपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीहरु तथा म्याराथनको हकमा नेपालगन्ज, पोखरा र नेपाल आर्मी म्याराथनका उत्कृष्ट खेलाडीहरुले आगामी बैशाख १५ र १६ गते आयोजना हुने राष्ट्रिय छनोट प्रतियोगितामा सहभागि हुन पाउने छन्।

नेपाल कराते महासंघले पनि बैशाख १५, १६ र १७ गते चितवनमा छनोट प्रतियोगिता गर्ने निर्णय गरिसकेको छ। राखेपबाट खर्चका विषयमा कुनै निर्णय नभएपनि खेलाडीलाई अप्ठेरो नपार्ने महासंघ अध्यक्ष दावा गुरुङ बताउछन्।

‘खुला प्रतियोगिता हो तरपनि हामी खेलाडीलाई गर्छौँ,कम्तिमा छनोट हुने खेलाडीको आवातजावतको खर्च पनि व्यहोर्छौँ। राखेपले पनि भर्खरै निर्णय गरेकाले उनिहरुले कति रकम दिन्छ, बुझ्नै बाँकी छु,’ गुरुङ भन्छन्।

राष्ट्रिय खेलकुद परिषद्(राखेपले केही दिनअघि पत्रकार सम्मेलन गर्दै एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने जनाएको थियो। सम्बन्धित खेलका संघहरुले छनोट प्रतियोगिता आयोजना गर्ने तालिका पनि प्राप्त भइसकेको राखेपको भनाई थियो।

विगतमा अन्तर्राष्ट्रिय पदक सम्भावना भएका खेलका राष्ट्रिय टोलीलाई नियमित प्रशिक्षणमा राख्ने गरिएको थियो। राष्ट्रिय टोली रहँदा अन्तर्राष्ट्रिय सहभागितामा समेत सजिलो हुने गरेपनि १३ औँ सागपछि कुनैपनि खेलको राष्ट्रिय टोली छैन।

राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलाडीले आफ्नै खर्चमा छनोट प्रतियोगिता खेल्नुपर्ने अवस्थाबारे अनविज्ञता व्यक्त गरे।

‘हामीले सबै संघहरुलाई तपाईहरुलाई आवश्यक बजेट माग गर्नुस भनेका छौँ। बजेट माग गर्दा त्यो कारणसहित हुनुपर्ने हाम्रो भनाई छ। त्यसैले संघहरुले कसरी छनोट प्रतियोगिता गर्छन् त्यो उनिहरुले जान्ने कुरा हो। हामीले तपाईहरुलाई आवश्यक बजेट दिन्छौँ भनेका छौँ’, घिसिङले भने। संघ र हाई पर्फमेन्स कमिटीले यसबारे काम गरिरहेको उनको भनाई छ।
‘कति संघले बजेट माग गर्नु भयो, कतिले गर्नु भएको छैन त्यसको रिपोर्ट मसम्म आइपुगेको छैन’ सदस्यसचिव घिसिङले भने। एसियन गेम्समा नेपालबाट अनुमानित एक सय ५० खेलाडी सहभागी हुनेछन् । २८ जना प्रशिक्षक र २० जना व्यवस्थापक रहने अनुमान गरिएको छ ।

राखेपले आगामी जेठ २२ देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै छ। उक्त प्रतियोगिताका लागि प्रदेशहरुले जिल्लास्तरबाट खेलाडी छनोट गर्दै प्रदेश टिम तयार गर्नेछन् र जेठ १० गतेसम्म सबै प्रदेशले छनोट प्रतियोगिता सम्पन्न गरिसक्ने राखेपको विश्वास छ। नवौँ राष्ट्रिय खेलकुदपछि १४ औँ दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गर्दै राष्ट्रिय टोली तयार हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर