मेस्सीविरुद्ध पीएसजी समर्थककाे ‘हुटिङ’ आश्चर्यजनक- प्रशिक्षक पोचेटिनो – Nepal Press

मेस्सीविरुद्ध पीएसजी समर्थककाे ‘हुटिङ’ आश्चर्यजनक- प्रशिक्षक पोचेटिनो

पेरिस । पेरिस सेन्ट जर्मन-पीएसजीका समर्थकले लियोनल मेस्सीविरुद्ध गरेको ‘हुटिङ’ आश्चर्यजनक र अस्वीकार्य भएको प्रशिक्षक माउरीसियो पोचेटिनोले बताएका छन्।

घरेलु लिगको खेलअन्तर्गत गत शनिबार पीएसजीले घरेलु मैदानमा लेन्ससँग १-१ गोलको बराबरी गरेपछि रंगशालामा उपस्थित केही दर्शकले मेस्सीलाई लक्षित गर्दै एकसाथ आवाज निकालेर असन्तुष्टि व्यक्त गरेका थिए।

मेस्सीले उक्त खेलमा आकर्षक लङ रेन्ज गोल गरेका थिए भने बराबरीकै नतिजापछि पीएसजीले लिग वानको उपाधि जित्ने पक्का गरेको थियो।

‘मेस्सीविरुद्धको त्यो हुटिङ (बु) ? यो अविश्वसनीय छ। यो स्वीकार गर्न निकै गाह्रो विषय हो। कल्पना गर्नसमेत सकिँदैन’, पोचेटिनोले ईएसपीएन अर्जेन्टिनासँग भनेका छन्।

खेल सकिएर पीएसजीले उपाधि जितेको खुसीयाली मनाइरहँदा केही दर्शकले मेस्सीसहित अर्का स्ट्राइकर नेमारविरुद्ध एकसाथ सुसेलेका थिए।

युरोपियन च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित भित्र्याइएका यी खेलाडी यो सिजन पीएसजीले उक्त प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा रियल म्याड्रिडसँग हार व्यहोरेपछि दर्शकबाट आलोचना खेपिरहेका छन्। गत सिजन बार्सिलोनाबाट ३८ गोल गरेका मेस्सीले यो सिजन क्लबका लागि केवल ९ गोल गरेका छन्। १३ गोलमा उनको असिस्ट रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर