रजतपट अंकलले छोरी अन्माउँदा सेलिब्रिटीको घुइँचो, को–को गएनन् ? (१५ तस्बिर) – Nepal Press

रजतपट अंकलले छोरी अन्माउँदा सेलिब्रिटीको घुइँचो, को–को गएनन् ? (१५ तस्बिर)

काठमाडौं । ‘रजतपट अंकल’ भनेर चिनिने सञ्चारकर्मी प्रकाश सुवेदीलाई अन्तर्वार्ता दिन आजकल धेरै सेलिब्रिटीहरु हच्किन्छन् । उनको कार्यक्रममा अन्तर्वार्ता दिएर विवादमा मुछिने कलाकारहरुको सूची दिनदिनै लामो बनिरहेको छ ।

तर, यसको मतलब सुवेदीसँग सबै कलाकारहरुको व्यक्तिगत सम्बन्ध सकिएको भने होइन । अन्तर्वार्ता दिन नआए पनि थुप्रै कलाकारहरु उनीसँग नजिक छन् । त्यसैले त प्रकाशले हिजो आफ्नी छोरी अन्माउँदा सेलिब्रिटीहरुको मेला नै लाग्यो ।

एकाधबाहेक चलचित्र नगरीका अधिकांश परिचित अनुहारहरु विवाहमा वरबधुलाई आशीर्वाद दिन धुलिखेलको एक रिसोर्टमा उपस्थित भएका थिए ।

बैवाहिक समारोहमा को–को सेलिब्रिटी गएभन्दा पनि को को गएनन् भन्नु सान्दर्भिक हुन्छ ।

सुपरस्टार अनमोल केसी र सुहाना थापा परिवारसहित एकसाथ विवाहमा आएका थिए । भुवन केसी, झरना थापा, सुनील थापासहित अनमोल र सुहाना दुईवटा गाडीमा आएका थिए ।

करिब ४५ मिनेट विवाहमा बिताएका अनमोल र सुहाना पानीपुरी खाएर एउटै गाडीमा फर्किए । भुवन, झरना र सुनील अलिबेर बसेर अर्को गाडीमा फर्किए ।

अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापा एक सञ्चारकर्मीसँग विवाहस्थल पुगेकी थिइन् । यस्तै अभिनत्री करिश्मा मानन्धर श्रीमान विनोद मानन्धरसहित प्रकाशको निम्तो मान्न पुगिन् । नायिका आँचल शर्मा पनि श्रीमान उदीप श्रेष्ठसँग आएकी थिइन् । अभिनेत्री सञ्चिता लुइँटेल विवाहमा आए पनि उनका पति नायक निखिल उप्रेती भने देखिएनन् । वर्षा राउत श्रीमान सञ्जोग कोइरालासँग आएकी थिइन् ।

विवाहमा पुगेका नायिकाहरुमध्ये आँचल शर्मा, नीता ढुंगाना र सञ्चिता लुइँटेलको पहिरनले चर्चा पाएको थियो । रेखा थापा र वर्षा राउत भने सामान्य पहिरनमा देखिए । सुहानाले हरियो लहेंगा लगाएकी थिइन् ।

विवाहमा पुगेका चलचित्र क्षेत्रका अन्य चर्चित अनुहारहरुमा नीर शाह, तुलसी घिमिरे, रवीन्द्र खड्का, दिलीप रायमाझी, नीता ढुंगाना, छविराज ओझा, रामकृष्ण ढकाल, विल्सनविक्रम राई, जितु नेपाल, नम्रता सापकोटा आदि थिए ।

को–को अनुपस्थित ?

महानायक राजेश हमाल विवाहमा गएनन् । उनले आफूलाई सञ्चो नभएको जानकारी गराएका थिए ।

अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौला पनि अनुपस्थित रहे । ‘महानायक काण्ड’ यता प्रकाश सुवेदीसँग दीपक–दीपाको सम्बन्ध बिग्रिएको छ । प्रकाशको अन्तर्वार्तामा राजेश हमालको महानायकत्वमाथि प्रश्न उठाएपछि दीपा तीव्र विवादमा तानिएकी थिइन् ।

विगतमा दीपाले प्रकाशलाई भाइटीकासमेत लगाइदिने गर्थिन् । तर, आफूलाई विवादमा पार्ने किसिमले प्रश्न सोधेर अन्तर्वार्ता प्रशारण गरेको भन्दै दीपा प्रकाशसँग रिसाएकी हुन् । अहिले पनि उनीहरुको राम्रो बोलचाल छैन ।

यस्तै, प्रकाशसँग रिसाएकी अर्की अभिनेत्री पूजा शर्मा पनि विवाहमा आइनन् । रजतपटमा सामान्य ज्ञानको प्रश्नको जवाफ दिन नसक्दा पूजा ट्रोल भएकी थिइन् । त्यसपश्चात उनले प्रकाशसँग सार्वजनिक गुनासो गरिन् । त्यसका विरुद्ध प्रकाशले पूजालाई टेलिभिजन कार्यक्रममै ‘दाह्रा निस्केकी गायिका’ भनेर अपमानित गरेका थिए । त्यसयता प्रकाशसँग पूजाको राम्रो सम्बन्ध छैन ।

तस्वीर सौजन्यः अनुप भट्टराई  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *