तेस्राे मदन भण्डारी स्मृति खुला दाैडमा मुकेश र सन्तोषी पहिलो – Nepal Press

तेस्राे मदन भण्डारी स्मृति खुला दाैडमा मुकेश र सन्तोषी पहिलो

काठमाडौं । मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेस्राे मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ पहिलो भएका छन् ।

शनिबार भएकाे दाैडकाे पुरुषतर्फ मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे । गजेन्द्र राई १५ मिनेट ४०.४० सेकेन्डमा दाैड पूरा गरी दोस्राे तथा श्रीकास राई १५ मिनेट ४३.०९ सेकेन्डमा दूरी पार गरी तेस्राे भए ।

महिलातर्फ पहिलाे भएकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन् । १३ औं सागकी रजत विजेता पुष्पा भण्डारी १८ मिनेट ४२.४५ सेकेन्डमा दूरी पारी दाेस्राे स्थानमा रहिन् । १९ मिनेट ४४.४३ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी निर्मला केसीले तेस्राे भई काँस्य पदक जितिन् ।

खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

रन क्लब नेपाल र नेपाल खेलकुद महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको स्कुलतर्फ छात्रमा विश्वराम कुँवर पहिलो भए । उनको टाइमिङ १७ मिनेट ०९.०७ सेकेन्ड रह्यो । ईश्वरचन्द्र बस्नेत १७ मिनेट २३.१६ सेकेन्डमा दूरी पार गरी दोस्राे तथा विकेश घिमिरे १७ मिनेट २८.०८ सेकेन्डमा दाैड पार गरेर तेस्राे बने ।

छात्रातर्फ निर्धारित लक्ष्य २० मिनेट ३५ सेकेन्डमा पूरा गर्दै सरस्वती बोहरा शीर्ष स्थानमा रहिन् । सोनु घतानी २१ मिनेट ५६.३० सेकेन्डले दोस्राे तथा अन्जु खड्का २२ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गरी तेस्राे भए । छात्रछात्रामा पहिलो हुनेले १० हजार, दोस्राेले ५ हजार र तेस्राे हुनेले ३ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भई पुनः त्यही आएर टुंगिएको थियो । दौडमा २५० प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ ।
विजेतालाई पूर्वमन्त्री भानुभक्त ढकाल, नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत, रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा पूर्वधावक ओलम्पियन मुकुन्दहरि श्रेष्ठ र करातेका ओमकृष्ण प्रसाईंलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर