मतदाता नामावली सच्याउन नपाइने – Nepal Press

मतदाता नामावली सच्याउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन भइसकेकाले अब मतदाता नामावलीमा कुनै संशोधन, परिमार्जन, थपघट, हेरफेर गर्न र सच्याउन नमिल्ने जनाएको छ ।

आयोगले शुक्रवार एक विज्ञप्ति जारी गर्दै मतदाता नामावली संकलन कार्य सम्पन्न गरेर अन्तिम मतदाता नामावली प्रकाशन भइसकेकाले अब कुनै पनि हेरफेर नहुने जनाएको हो ।

मतदाता नामावली थपघट गर्न, हेरफेर गर्ने लगायतका कार्य नितान्त आयोगको क्षेत्राधिकार भित्र रहेको र यस सम्बन्धमा मतदाता नामावली ऐन,२०७३ को दफा २९ बमोजिम कुनै अदालतमा प्रश्नसमेत उठाउन नपाइने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

मतदाता नामावली ऐन, २०७३ मा निर्वाचनको मिति घोषणा भएपछि उक्त निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नमिल्ने व्यवस्था रहेको छ । त्यसै व्यवस्था अनुसार गत माघ २५ गते आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको थियो ।

मतदाता नामावली संकलन कार्य स्थगित भएपछि आयोगबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत भएर गत फागुन १९ गते देखि फागुन २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भएको थियो ।

उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने, कुनै दाबी विरोध भए त्यस सम्बन्धी निवेदन दिने लगायतका कार्यक्रम सञ्चालन भएका थिए ।

उक्त कार्यका लागि अनलाइनबाट समेत निवेदन दिने सुविधा आयोगले प्रदान गरेको थियो । यसरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि आयोगबाट आयोगले गत चैत १३ गते दोहोरो नामावली हटाउने लगायतका प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो ।

अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न, सच्याउन पाउँ भन्ने निवेदन आइरहेको भन्दै आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानुनी व्यवस्था अनुसार यस्तो निर्णय गरिएको जनाएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात् मतदाता नामावली संकलन र अद्यावधिकको कार्य पुनः सुचारु भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेका व्यक्तिले सम्बन्धित निर्वाचन कार्यालयमा गई दर्ता गर्ने, त्रुटि सच्याउने लगायतका कार्य गर्न सकिने भए पनि निर्वाचन अवधिमा मतदाता नामावली सम्बन्धी कुनै पनि काम नहुने आयोगले जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *