सौगात र पुरन सेमिफाइनलमा – Nepal Press

सौगात र पुरन सेमिफाइनलमा

काठमाडौं । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा सौगातले मधेश प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई पराजित गरे ।

पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण डंगोलले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथ तथा एपीएफका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई हराउदै सेमिफाइनलमा पुगे । पुरुष ६३ केजीमा नेपाल आर्मीका पुरन सुनुवारले बाग्मतीका मौसम राना मगर तथा लुम्बिनीका अनिल पुन मगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

बसन्तपुर डबलीमा जारी प्रतियोगिताको पुरुष ६९ केजीमा आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका विकास राना मगरलाई हराउँदै सेमिफाइनल यात्रा तय गरे । सोही तौलसमूहमा बाग्मतीका शिरीश खनालले प्रदेश १ का अभिनय राईबाट वाकओभर पाउदै सेमिफाइनलमा पुगे । पुरुष ७५ केजीमा कर्णाली प्रदेशका दिलराज भण्डारीले सुदूरपश्चिमका भूपेन्द्र बिसी तथा प्रदेश १ का सनम गुरुङले गण्डकीका निसान गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ८१ केजीमा बाग्मतीका रोशन स्याङ्तान र सुदूरपश्चिमका श्यामबहादुर महता अन्तिम चारमा पुग्न सफल भए । रोशनले मधेशका किरण लामा तथा श्यामले गण्डकीका मनीष बिसीमाथि जित निकाले । पुरुष ९१ केजीमा आर्मीका गणेश प्रधानले सुदूरपश्चिमका दिनेश भट्ट तथा प्रदेश १ का प्रसिश रुचालले बाग्मतीका उमंग महर्जनलाई निराश पार्दै सेमिफाइनलमा प्रवेश गरे ।

यश,महिला ५१ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता आर्मीकी मीनु गुरुङ र लुम्बिनीकी माया खत्री केसी सेमिफाइनलमा पुगेका छन् । मीनुले बाग्मतीकी अस्मिता दुवाल तथा मायाले सुदूरपश्चिमकी सोनिया शेठ्ठीलाई हराए ।

महिला ५७ केजीमा नेपाल प्रहरीकी निशा तामाङले मधेशकी सुमिना खड्का तथा प्रदेश १ की सुस्मिता राईले गण्डकीकी सिमा गुरुङलाई पराजित गरी सेमिफाइनलमा पुगे । महिला ६० केजीमा एपीएफकी संगिता सुनारले प्रदेश १ की सम्झना देउलाबाट वाकओभर पाउदै सेमिफाइनलमा पुगिन् ।

अर्को क्वाटरफाइनलमा प्रदेश १ की नारिका राईले लुम्बिनीकी सुरक्षाकुमारी कुमाललाई पाखा लगाउदै सेमिफाइनलमा पुगिन् । महिला ६९ केजीमा लुम्बिनीकी जुनमाया थारुले कर्णालीकी अस्मिता चन्दलाई पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर