महिला गोल्ड कप : एपीएफ फाइनलमा – Nepal Press

महिला गोल्ड कप : एपीएफ फाइनलमा

धनगढी । नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको फाइनल पुगेको छ ।

बुधवार धनगढी रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई ३–२ गोलको नतिजामा हराउँदै एपीएफले फाइनल यात्रा तय गरेको हो ।

एपीएफलाई फाइनल पुर्‍याउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै, सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल गरे ।

एपीएफ लाई अग्रता दिलाउन सरुले खेलको २३औँ मिनेटमा पहिलो गोल गरिन् । खेलको ३४औँ मिनेटमा सरुले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफमा २–० ले अगाडी रहेको एपीएफका लागि ७१औँ मिनेटमा सावित्राले तेस्रो गोल गरिन् ।

आर्मीका लागि खेलको ८७औँ मिनेटमा सपना लामाले पहिलो गोल गरिन् । खेलको इन्जुरी समयमा आर्मीका लागि हेमा चौधरीले दोस्रो गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

वनदेवी युवा क्लबको आयोजनमा भइरहेको प्रतियोगिता अन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ । बिहीबार हुने दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्ड कपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ ।

गोल्ड कपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर