शहरी विकास मन्त्रालयले अबको बजेटमा भ्यूटावर र एकीकृत बस्ती विकासका योजना नराख्ने – Nepal Press

शहरी विकास मन्त्रालयले अबको बजेटमा भ्यूटावर र एकीकृत बस्ती विकासका योजना नराख्ने

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताएकी छन् ।

संचालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यूटावर र सभाहल निर्माणका लागि बजेट नछुट्याइने उनले बताइन् ।

‘आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौं । राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संररचनाले जनजीवनसँग अर्थ राख्दैनन् । अर्को कुरा यसको संचालनको मोडालिटी समेत छैन ।’

यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने मन्त्री झाँक्रीले बताइन् ।

मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने बताएको छ । एकीकृत बस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर बस्ती विकास कार्यक्रम ल्याइने बताउनुभयो ।

पहाडी र हिमाली क्षेत्रमा प्रभावकारी नभएको र तराई तथा काठमाडौं उपत्यकामा जग्गाको अभावका कारण एकीकृत बस्ती विकास कार्यक्रमबाट पनि पछि हट्ने उनको भनाइ छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा यसलाई बस्ती विकास तथा संयुक्त आवास कार्यक्रममा रुपान्तरण गर्न लागिएको झाँक्रीलाई उद्धृत गर्दै सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *