महिला गोल्डकप : आयोजक वनदेवी सेमिफाइनलमा – Nepal Press

महिला गोल्डकप : आयोजक वनदेवी सेमिफाइनलमा

धनगढी । आयोजक वनदेवी युवा क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार धनगढी रङ्गशालामा सम्पन्न भएको चौथो दिनको खेलमा कालिका स्पोर्टस एकेडेमीलाई २–० गोलको नतिजामा हराउँदै वनदेवी अन्तिम चारमा पुगेको हो ।

वनदेवीलाई सेमिफाइनलमा पुराउनका लागि चन्द्रा भण्डारीले दुवै गोल गरिन् । खेलको छैठौंं मिनेटमा चन्द्राले गोल गर्दै वनदेवीलाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा लिएको अग्रतालाई बचाई राखेको वनदेवीका लागि खेलको ८९औँ मिनेटमा चन्द्राले दोस्रो तथा निर्णायक गोल गरिन् । सेमिफाइनलमा अव वनदेवीले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

वनदेवी युवा क्लबको आयोजनमा भइरहेको प्रतियोगिता अन्तर्गत बुधवार पहिलो सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनल खेलमा विभागीय टोलीहरू एपिएफ र नेपाल आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ । बिहीबार को सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्ड कपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्ड कपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर