बुटवल उपमहानगरमा कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस, गठबन्धन नहुने संकेत – Nepal Press

बुटवल उपमहानगरमा कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस, गठबन्धन नहुने संकेत

रुपन्देही । नेपाली कांग्रेसले बुटवल उपमहानगरमा मेयरको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । आगामी वैशााख ३० गने हुने स्थानीय निर्वाचनका लागि कांग्रेसले बुटवलमा नगर सभापति रहेका खेलराज पाण्डेलाई मेयरका लागि अगाडि सारेको हो ।

बुटवल उपमहानगर कमिटीको बैठकले नगर प्रमुखमा पाण्डेसहित उप प्रमुखमा ८ जनाको नाम सिफारिस गरेको कांग्रेस बुटवल उपमहानगर समिति सचिव छाया पोखरेलले बताए ।

बुटवल उपमहानगरका १९ वटै वडा सभापतिहरूसहितको बैठकले नगर प्रमुखमा खेलराज पाण्डे तथा उप प्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सबिता शाक्यको नाम सिफारिस गरेको बैठकमा सहभागी एक वडा कमिटी अध्यक्षले बताए ।

कांग्रेस बुटवल उपमहानगरले गरेको यो निर्णयसँगै बुटवलमा गठबन्धन दलहरू बीचको सहकार्यमा हुनेमा शङ्का उत्पन्न भएको छ । कांग्रेसले मेयर र उपमेयरको उम्मेदवार आकांक्षीहरुको नाम सार्वजनिक गरेसँगै गठबन्धनमा रहेका अन्य दलहरूले भाग नपाउने चिन्ता थपिएको छ । मेयर र उपमेयर दुवै पदका लागि नाम सिफारिस गर्दा गठबन्धनभित्र पद बाँडफाँड गर्ने स्थिति नभएका कारण कुरा बाझिन सक्ने गठबन्धन दलभित्रका एक नेताले बताए ।

नगरले पठाएको नामलाई जिल्ला कार्यालयले अनुमोदन गरेपछि बुटवलको उम्मेदवारहरूको अन्तिम टुंगो लाग्ने छ । बुटवलमा उपमहानगर सभापति रहेका पाण्डे सहित क्षेत्रीय सभापति हरि लम्साल, महाधिवेशन प्रतिनिधि चुन्न प्रसाद पौडेलसहितले नगरप्रमुखमा आकांक्षा देखाएका थिए ।

सत्तारुढ गठबन्धनका बिचमा भएको सहमति अनुसार बुटवल उपमहानगरमा कांग्रेसले नगरप्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख पाउने सहमति भए पनि नेपाली कांग्रेसले उपप्रमुखमा ८ जनाको नाम सिफारिस गरेको छ ।

नगरप्रमुखमा सिफारिस गरिएका पाण्डे यसअघिको स्थानीय तह निर्वाचनमा समेत नगर प्रमुख पदमा उम्मेदवार भएका थिए ।

एमालेका शिवराज सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा माओवादी सहितको गठबन्धनका उम्मेदवार पाण्डेले २० हजार ८ सय ५१ मत पाएर पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर