श्रीलंकासँग नेपालको तुलनै हुन सक्दैन, देशको आर्थिक अवस्थालाई कसैले चुनावी मुद्दा बनाइरहेका छन् – अर्थमन्त्री शर्मा – Nepal Press
अर्थमन्त्री–सीएनआई भेट

श्रीलंकासँग नेपालको तुलनै हुन सक्दैन, देशको आर्थिक अवस्थालाई कसैले चुनावी मुद्दा बनाइरहेका छन् – अर्थमन्त्री शर्मा

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको सीएनआईले जनाएको छ ।

भेटमा अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलनै नहुने कुरा आफूले बारम्बार भन्दै आएको जानकारी दिए ।

‘केही व्यक्तिले देशको अर्थ व्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन्’, उनले भने, ‘यथार्थमा नेपालको अर्थ व्यवस्था श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं ।’
उनले आगामी आव ०७९/८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि दिए ।

भेटमा सीएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिँदै विदेशी मुद्राको सञ्चितीमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथि उठाउने दुई मुख्य विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रको सुरुवातमै उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताए । उनले कार्यपत्रमा प्रस्तुत गरेअनुसार नेपालको कूल गार्हस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलंकाको कूल गार्हस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको छ ।

कार्यपत्रअनुसार नेपालको वास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको छ । जीडीपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत तथा कूल बैदेशिक मुद्रा सञ्चितीतर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलरमात्रै रहेको कार्यपत्रमा उल्लेख थियो ।

अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको थियो ।
अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य–मख्य सूचकाङ्कमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरै मजबुत रहेको अग्रवालले बताए । अध्यक्ष अग्रवालले विदेशी मुद्राको सञ्चितीमा परेको चापबाट माथि उठ्न आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउन सुझाव दिए ।

आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने उनको सुझाव थियो । अध्यक्ष अग्रवालले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर पनि फरक फरक बनाउन सुझाव दिए ।

आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै उनले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु धमाधम घोषणा गर्नुपर्ने बताए ।

उनले सीएनआईको तर्फबाट सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासीय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायतका सुझाव प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *