फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र विकास समेटिएको पुस्तक लोकार्पण – Nepal Press

फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र विकास समेटिएको पुस्तक लोकार्पण

काठमाडौं । काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ ।

झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेखेको फुटुङ्गः इतिहास, संस्कृति र विकास नामक पुस्तक फुटुङ्गमै आयोजित कार्यक्रमबिच सार्वजनिक गरिएको हो ।

पुस्तक विमोचन गर्दै इतिहासकार एवम् लेखक प्रा. डा राजेश गौतमले यथेष्ट विषय पस्केकाले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्न पक्षलाई सरल भाषामा चित्रण गरिएको बताए । पुस्तक प्रकारको सांस्कृतिक लघु विश्व कोष झैँ लागेको गौतमको भनाइ थियो । समारोहमा विकास अर्थशास्त्री प्रा. डा केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको बताउँदै विकास र संस्कृतिलाई परिपूरकको रूपमा लिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गरे । उनले पुस्तक स्थानीय विशिष्ट ग्रन्थको रूपमा आएको र अन्य समुदायलाई पनि यस प्रकारको पुस्तक प्रकाशन गर्न उत्साहित गर्ने बताए । उक्त कार्यक्रममा साहित्यकार लब गाउँले र डा. घनश्याम पुडासैनी, उद्यमी हरिकृष्ण रावल, संस्कृतिकर्मी भक्तीनारायण महर्जन, तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिव लम्साल लगायतले पुस्तकबारे चर्चा गरेका थिए ।

पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा बदलिएको जीवन र आगामी दिन गर्नुपर्ने विषय समेटिएको लेखक फुटुङ्गको भनाइ छ । उनका अनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने प्रयास स्वरूप लामो समयको प्रयासपछि पुस्तक तयार भएको हो ।

पुस्तकमा फुटुङ्ग गाउँको इतिहास, धार्मिक र सांस्कृतिक पक्ष तथा २०४० को दशकमा गाउँको सामाजिक परिवेश अनि क्रमशः सहरी इलाका बन्दै गएको घटनाक्रमको चित्रण गरिएको छ । त्यस्तै, जीविकोपार्जन र फुटुङ्गको आधुनिक विकास, त्यसमा स्थानीय तह र विभिन्न संघसंस्थाको योगदानलाई समेत पुस्तकमा व्याख्या गरिएको छ ।

पुस्तकको पहिलो खण्डमा उक्त गाउँको ऐतिहासिकता, बस्ती विकास तथा विभिन्न जातिको बसाइसराइपछि आगमनका विविध पक्षलाई उतारिएको छ ।

लिच्छविकालमा अस्तित्वमा आएको मानिएको फुटुङ्गमा जातीय विविधतासहितको बसोबास रहेको पुस्तकले चर्चा गरेको छ । फुटुङ्गको पहिलो रैथाने मानिएका नेवार समुदायको धार्मिक चाडपर्व, जात्रा, संस्कृति, भजनलाई समेत छुट्टै खण्डमा चर्चा गरिएको छ । काठमाडौँ उपत्यकाका अन्य ग्रामीण भेग जस्तै फुटुङ्गमा पनि नेवारी समुदायले वर्षभरि मनाउने जात्राका रोचक र ऐतिहासिक पक्ष पुस्तकको एउटा विशेषता हो ।

त्यस्तै, उनीहरूको परम्परा र गुठीसम्बन्धी ऐतिहासिक वर्णन पुस्तकमा पढ्न पाइन्छ । फुटुङ्ग क्षेत्रमा नेवार समुदायको ६ वटा गुठी प्रचलनमा रहेको विवरण पुस्तकमा छन् । प्राचीनकालदेखिका मठमन्दिर एवम् धरोहर संरक्षणका लागि भएका पहलसम्बन्धी विवरण पुस्तकमा समेटिएको छ । पुस्तक अनुसार फुटुङ्गमा १८ वटा मठमन्दिर छन् ।

कुनै समय कृषि पेसामा अङ्गाल्ने यस क्षेत्रका बासिन्दाहरूको जीवनशैलीमा आएको परिवर्तन र परिवर्तित सन्दर्भमा पुस्तान्तरणले पारेको प्रभाव र असरलाई पुस्तकले महत्त्व दिएको छ । त्यस्तै, फुटुङ्गमा शिक्षा शीर्षकको खण्डमा फुटुङ्गमा भएको शैक्षिक विकास र औपचारिक शिक्षाको संघर्षपूर्ण छ दशकलाई चित्रण गरिएको छ ।

त्यसै गरी स्वास्थ्य क्षेत्रमा भएका परिवर्तनसँगै भौतिक विकासमा भएका उपलब्धि तथा सामाजिक संघसंस्थाको भूमिकाबारे चर्चा गरिएको पुस्तकले सामाजिक र चेतना विकासमा महत्त्वपूर्ण पहल भए पनि निरन्तरताको अभाव भएको यथार्थलाई औँल्याएको छ ।

फेरिएको फुटुङ्ग शीर्षकको खण्डमा सडक, यातायात सञ्चालनबारे २०५० को दशकपछि भएका परिवर्तन तथा निजी घर र आवासमा भएको वृद्धि र सहरीकरणको घटनाक्रमको व्याख्या गरिएको छ । पहिला छुट्टै गाउँ विकास समिति भएकोमा संघीय प्रणाली लागू भएपछि अहिले तारकेश्वर नगरपालिकामा परेको फुटुङको स्थानीय विकास, कला संस्कृति र शैक्षिक–सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको परिचय र कथालाई पुस्तकमा उतारिएको छ ।

भौतिक पूर्वाधारमा अघि बढे पनि समग्र विकासका लागि गर्नुपर्ने १७ वटा कामको सूचि राखेर पुस्तकलाई सामाजिक विकासको दृष्टिले महत्त्व दिन खोजिएको छ । स्थानीय चुनावको सन्दर्भमा आएको यस्तो सूचिले दलहरूलाई आफ्नो विकासको एजेण्डा बनाउनमा सहयोगी हुने विश्वास लेखक श्रीराम फुटुङ्गेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *