संक्रमण तीव्र भएपछि सांघाईमा निजी घरलाई नै क्वारेन्टाइन बनाइँदै, सर्वसाधारणद्वारा विरोध प्रदर्शन – Nepal Press

संक्रमण तीव्र भएपछि सांघाईमा निजी घरलाई नै क्वारेन्टाइन बनाइँदै, सर्वसाधारणद्वारा विरोध प्रदर्शन

काठमाडौं । चीनको सांघाईमा कोभिड संक्रमण बढ्दै गएको छ । संक्रमण नियन्त्रणमा लिन निजी घरहरुलाई समेत क्वारेन्टाइन सेन्टरमा परिणत गर्न थालेको छ । जसको विरोधमा सर्वसाधारण उत्रिएका छन् ।

चीनको प्रख्यात सामाजिक सञ्जाल ‘वी च्याट’ मा बिहीबार एक लाइभ स्ट्रिम भिडिओमा सांघाईको स्थानीय प्रशासनले घरबाट सर्वसाधारणलाई निकालेर बलजफ्ती अर्को स्थानमा सार्दै गरेको दृश्य सार्वजनिक भएको थियो । उक्त भिडिओमा पीपीई सुट लगाएका केही अधिकारीहरुले एक महिलामाथि बल प्रयोग गरेको देखिएको थियो भने भिडिओमा देखिएकी महिलाले प्रतिकार गरिरहेको देखिएको थियो ।

‘म देशसँग सहकार्य गर्न नखोजेको हैन तर यहाँ १० मिटरको दुरीमा मात्र घरहरु छन्, यहाँका कसैलाई पनि कोरोना संक्रमण देखिएको छैन र पनि हामीलाई यस ठाउँबाट अन्त सारिन खोजिँदै छ’, भिडिओमा आवाज सुनिएको थियो । उक्त भिडिओलाई अहिले ‘वी च्याट’ ले डिलिट गरेको छ ।

उक्त घटना सार्वजनिक भएसँगै अपार्टमेन्ट कम्पनी जान्जियाङ ग्रुपले स्थानीय प्रशासनले ५ वटा खाली भवनलाई क्वारेन्टाइन सेन्टरमा परिणत गरिसकेको र थप ९ वटा भवनलाई पनि क्वारेन्टाइन सेन्टरमा परिणत गर्न लागेको पुष्टि गरेको अन्तर्राष्टिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।

यस्तै ग्ल्याक्सोस्मित क्लाइन र ह्युलेट प्याकयार्ड नामक थप २ अपार्टमेन्टहरुलाई पनि क्वारेन्टाइन सेन्टरमा परिणत गर्नका लागि सर्वसाधारणलाई अन्त सार्न लगाइएको रोयटर्सले जनाएको छ । सांघाईले हालैमात्र आगामी अप्रिल २० सम्म समुदायमा शून्य कोभिड अभियान सञ्चालनमा ल्याएको छ । अभियानअन्तर्गत क्वारेन्टाइनभन्दा बाहिरको क्षेत्रमा कोभिडको संक्रमण शून्य बनाउने लक्ष्य अघि सारिएको छ । जसका कारण कोरोना परीक्षणलाई तीव्र बनाउँदै क्वारेन्टाइन विस्तारलाई पनि तीव्रता दिइएको हो ।

सांघाईमा निजी घरहरुसँगै स्कुल, प्रदर्शनी हललगायतका भवनहरुलाई यसअघि नै आइसोलेसन सेन्टरमा परिणत गरिसकिएको छ । करिब २४ हजार जनसंख्या रहेको सांघाईमा शनिबारमात्र ७२२ जना नयाँ संक्रमित थपिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *